images
images
  • ट्रम्पलाई फिफाले दिएको शान्ति पुरस्कारबारे छानबिन गर्न नर्वेको माग

    ओस्लो– नर्वेजियन फुटबल महासंघले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गरेको शान्ति पुरस्कारबारे छानबिन गर्न माग गरेको छ ।

    महासंघले फिफाको आचारसंहिता तथा नैतिकता समितिलाई पत्र पठाउँदै पुरस्कार प्रदान गर्ने प्रक्रियाबारे अनुसन्धान गर्न आग्रह गरेको हो ।

    फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले गत डिसेम्बर ६ मा विश्वकपको समूह विभाजन कार्यक्रमका क्रममा ट्रम्पलाई उक्त पुरस्कार प्रदान गरेका थिए ।

    त्यसपछि मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्था ‘फेयर स्क्वायर’ ले पनि इन्फान्टिनोविरुद्ध उजुरी दर्ता गरेको थियो ।

    उजुरीमा उनले आफ्नो पद र प्रभावको प्रयोग गर्दै ट्रम्पलाई राजनीतिक रूपमा सहयोग पुर्‍याएको आरोप लगाइएको छ ।

    फिफाले भने ट्रम्पलाई कुन आधार र मापदण्डका आधारमा शान्ति पुरस्कार प्रदान गरिएको हो भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक गरेको छैन ।

    पुरस्कार प्रदान गरिएको समयमै ट्रम्प प्रशासनले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि समेत विभिन्न तहमा समर्थन जुटाउने प्रयास गरिरहेको थियो ।

    नर्वेजियन फुटबल महासंघकी अध्यक्ष लिज क्लाभेनेसले हालसम्म नर्वेले मात्रै औपचारिक रूपमा उजुरी दिएको बताएकी छन् ।

    उनका अनुसार अन्य देशका फुटबल संघहरूले चाहे उक्त मागमा समर्थन जनाउन सक्नेछन् ।

    तर कसैलाई दबाब दिएर समर्थन जुटाउने पक्षमा आफूहरू नरहेको उनले स्पष्ट पारिन् ।

    अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने आगामी विश्वकप प्रतियोगिता सन् २०२६ को जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ ।

    प्रतियोगिताको तयारीका क्रममा फिफा अध्यक्ष इन्फान्टिनोले ट्रम्प प्रशासनसँग निकट सहकार्य गरिरहेका छन् र प्रतियोगिता सफल बनाउन सार्वजनिक रूपमा सहयोगको अपिल समेत गर्दै आएका छन् ।

    नर्वेजियन फुटबल महासंघको पछिल्लो कदमले ट्रम्पलाई प्रदान गरिएको शान्ति पुरस्कारको औचित्य, पारदर्शिता र फिफाको निष्पक्षतामाथि थप प्रश्न उठाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images