images
images
  • प्रम बालेनको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनैपर्ने विपक्षी अडान

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले संसद्मा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउनुपर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन् ।

    नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्ने निर्णय गरेका हुन् ।

    यस विषयमा रणनीति तय गर्न सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बसेको छ ।

    आइतबार प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री शाहले भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको धेरै ठाउँको जग्गा मिचेको रहेछ भन्दै सीमा विवाद कूटनीतिक संवादबाट समाधान गर्नुपर्ने बताएका थिए ।

    प्रधानमन्त्रीको उक्त भनाइप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले अभिव्यक्ति संसदीय मर्यादा र राष्ट्रिय हितविपरीत रहेको दाबी गरेका छन् ।

    उनीहरूले सोमबारको प्रतिनिधिसभा बैठकमा यो विषय उठाउँदै अभिव्यक्ति रेकर्डबाट हटाउन औपचारिक माग गर्ने तयारी गरेका छन् ।

    कांग्रेसका सचेतक निश्कल राईका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिबारे विपक्षी दलहरूबीच साझा धारणा बनेको छ र त्यसलाई संसद्मा सशक्त रूपमा उठाइनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images