काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ ।
महाधिवेशनको व्यवस्थापन तथा सञ्चालनका लागि पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ ।
पार्टीले सार्वजनिक गरेको विवरणअनुसार मूल आयोजक समितिमा उपसभापति डा.स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिन कुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ, मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवली र सागर ढकाल सदस्य रहेका छन् ।
यसका साथै पार्टीका सम्पूर्ण केन्द्रीय समिति सदस्य तथा प्रदेश सभापतिहरूलाई पनि मूल आयोजक समितिमा समावेश गरिएको छ ।
महाधिवेशनको व्यवस्थापनलाई प्रभावकारी बनाउन मूल आयोजक समिति अन्तर्गत १८ वटा उपसमिति प्रस्ताव गरिएको छ ।
प्रस्तावित उपसमितिहरूमा कार्यक्रम सञ्चालन एवं व्यवस्थापन, गुनासो व्यवस्थापन, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा, आर्थिक व्यवस्थापन, महाधिवेशन प्रतिनिधि व्यवस्थापन, कानुनी समन्वय, प्रचारप्रसार तथा सञ्चार समन्वय, सुरक्षा तथा स्वयंसेवक परिचालन, सूचना प्रविधि, आवास तथा भोजन व्यवस्थापन, अतिथि सत्कार, हल तथा मञ्च व्यवस्थापन, स्वास्थ्य सेवा, सांस्कृतिक कार्यक्रम, यातायात व्यवस्थापन, स्थानीय समन्वय तथा सहकार्य, अभिलेखीकरण तथा दस्तावेजीकरण तथा अनुशासन उपसमिति रहेका छन् ।
रास्वपाले आफ्नो स्थापना पश्चात् पहिलोपटक राष्ट्रिय महाधिवेशन गर्न लागेको हो ।
पार्टीका अनुसार महाधिवेशनले आगामी कार्यदिशा, संगठनात्मक संरचना तथा नेतृत्व चयनसम्बन्धी महत्वपूर्ण निर्णयहरू गर्ने अपेक्षा गरिएको छ ।
चितवनमा हुने महाधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक तथा पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहने पार्टीले जनाएको छ ।






















