काठमाडौं- नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सरकारले ल्याएको नयाँ बजेटले नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरेका छन्।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले पछिल्ला वर्षहरूमा बजारमा उपभोग्य वस्तुको माग निरन्तर घटिरहेको चुनौतीपूर्ण समयमा अर्थतन्त्रलाई पुनः चलायमान बनाउने गरी बजेट आएको बताए।
उनले सरकारले २६० वटा वस्तुमा अन्तःशुल्क हटाउने निर्णय गरेकोमा खुसी व्यक्त गर्दै यस कदमले उद्योग व्यवसाय सञ्चालनको लागत घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
उद्योग परिसंघले लामो समयदेखि माग गर्दै आएको आयकर ऐनको दफा ५७ को संशोधन यस पटकको बजेटमा समेटिएको भन्दै उनले सरकारको यस निर्णयको स्वागत गरे। कर विवादहरूको उचित समाधान खोजिनु र लगानीसँग सम्बन्धित दर्जनौँ पुराना कानुनहरू संशोधन गर्ने प्रतिबद्धता आउनुले निजी क्षेत्रलाई उद्योग व्यवसायमा थप लगानी गर्न ठूलो प्रोत्साहन मिल्ने अध्यक्ष पाण्डेको भनाइ छ।


विश्व खबर 




















