images
images
  • एसियन गेम्स छनोटमा नेपालको शानदार जित, चीन २२१ रनले पराजित

    काठमाडौं -एसियन गेम्स छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई २२१ रनको विशाल अन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ३१३ रनको विशाल योगफल तयार गरेको थियो। चीनका लागि सेन्जियान जिङले सर्वाधिक ३१ रन बनाए। उनले १५ बलमा १ चौका र ४ छक्का प्रहार गरे। ओपनर डु जिन्यायो ३ रनमा बोल्ड हुँदा मा किन्चेङ खाता नै नखोली आउट भए। डु जियानहावोले १७ तथा कप्तान तियान सेन्क्यूले १२ रन जोडे।

    नेपालका बलरमध्ये कुशल मल्ल सर्वाधिक सफल रहे। उनले ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पार्दा नन्दन यादवले १ विकेट लिए।

    यसअघि नेपालको इनिङ्समा कुशल भुर्तेलले कीर्तिमानी प्रदर्शन गर्दै ४३ बलमा ५ चौका र १६ छक्काको मद्दतले १२९ रन बनाए। ओपनर आसिफ शेख ११ रनमा आउट भएपछि भुर्तेल र कुशल मल्लबीच दोस्रो विकेटका लागि १७५ रनको उत्कृष्ट साझेदारी भएको थियो। कुशल मल्ल ८५ रनमा अविजित रहे भने कप्तान रोहित पौडेलले ६९ रनको अविजित योगदान दिए। यी दुईले तेस्रो विकेटका लागि ११६ रनको अविजित साझेदारी गर्दै नेपालको स्कोर ३ सय रन पार पुर्‍याएका थिए।

    चीनका लागि मा कियानचेङ र डेन जिङ्गीले समान १–१ विकेट लिएका थिए । नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ चीन र मलेसिया पनि सहभागी छन्। प्रारम्भिक तालिका अनुसार कतार पनि यस समूहमा रहने तय भए पनि उसले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि समूहमा तीन टोली मात्र रहेका छन्। समूह ‘बी’ मा बहराइन, हङकङ, ओमान र सिंगापुर रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images