बिहीबार मलेसियाको बायोमास ओभलमा भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको हो ।
११४ रनको लक्ष्य नेपालले ३ बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्यो ।
नेपालकी कप्तान इन्दु बर्माले अविजित ४२ रनको महत्वपूर्ण पारी खेलिन् ।
सोनी पाख्रिनले २९, कविता कुँवरले १४ र सीता रानामगरले अविजित १३ रन बनाए ।
इन्डोनेसियाका नी एरियानी र नी मेड पुत्री सुवान्देवीले २/२ विकेट लिए भने डारा परमिथा र साङ मेप्रियानीले १/१ विकेट लिए ।
पहिले ब्याटिङ गरेको इन्डोनेसियाले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको थियो ।
कप्तान नी पुतु आयु नन्द सकरिनीले अविजित ५६ रन बनाइन् भने नी लुह देवीले २३ र नी मेड पुत्री सुवान्देवीले १३ रन जोडे ।
नेपालकी मनिषा उपाध्यायले २ विकेट र रिया शर्माले १ विकेट लिइन् ।
नेपालले दुई खेलमा चार अंक जोड्दै सेमिफाइनल पक्का गरेको हो ।
इन्डोनेसिया भने दुवै खेलमा हार बेहोर्दै बाहिरिएको छ ।
पहिलो खेलमा नेपालले चीनलाई १९ रनले हराएको थियो ।
सेमिफाइनलमा नेपालले मलेसियासँग खेल्नेछ भने अर्को सेमिफाइनलमा थाइल्यान्ड र चीन आमनेसामने हुनेछन् ।