काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले अघि बढाएको संविधान संशोधन बहसपत्रमा समेटिएको ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’ प्रणालीबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रैबाट पुनर्विचारको आवाज उठ्न थालेको छ ।
पार्टी महाधिवेशनमार्फत नै यो एजेन्डा औपचारिक रूपमा छोड्न सक्ने सम्भावना देखिएको छ ।
रास्वपाले स्थापना कालदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा वकालत गर्दै आएको भए पनि हाल शीर्ष नेताहरूले नेपालमा यस्तो प्रणाली उपयुक्त नहुने निष्कर्षमा पुग्न थालेको बताइएको छ ।
यसैबीच, बालेन पनि एक व्यक्तिमा असीमित शक्ति केन्द्रित हुँदा जोखिम हुने विषयमा ‘कन्भिन्स्ड’ भएको नेताहरूको दाबी छ ।
उनी अहिले पाँच वर्षको कार्यकाललाई परिणाममुखी बनाउने र त्यसपछि जनतामाझ जाने पक्षमा देखिएको बताइन्छ ।
यद्यपि, बालेन निकट केही अधिकारीहरूले भने संविधान संशोधन बहसमा उनको व्यक्तिगत चाहनाले ठूलो प्रभाव नपार्ने स्पष्ट पारेका छन् ।
रास्वपाको पहिलो महाधिवेशन आगामी असारमा चितवनमा हुने र त्यहीँ यसबारे औपचारिक निर्णय हुन सक्ने नेताहरूको भनाइ छ ।






















