images
images
  • दूरसञ्चार प्राधिकरणमा आफ्ना मान्छे भर्ती गर्न एनसेलको चलखेल, आवेदनको मापदण्ड नै परिमार्जन

    काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष तथा सदस्य नियुक्ति प्रक्रिया यतिबेला विवादमा तानिएको छ ।

    निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफूअनुकूलका व्यक्तिलाई नेतृत्वमा ल्याउन चलखेल गरेको आरोप सार्वजनिक भएपछि नियुक्ति प्रक्रियामाथि प्रश्न उठ्न थालेको हो ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत २६ वैशाखमा प्राधिकरणका रिक्त अध्यक्ष र सदस्य पदका लागि आवेदन आह्वान गरेको थियो ।

    सार्वजनिक सूचनाअनुसार आवेदन दिने अन्तिम मिति ५ जेठ तोकिएको थियो ।

    तर, आवेदन दिने समय समाप्त भइसकेपछि मात्रै मन्त्रालयले ‘सूचना तथा सञ्चार मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्ति एवं मनोनयनसम्बन्धी दिग्दर्शन, २०८३’ तथा ‘कार्यविधि, २०८३’ सार्वजनिक गरेपछि विवाद सुरु भएको हो ।

    आवेदन आह्वानपछि नै योग्यता तथा छनोट मापदण्ड परिवर्तन गरिएको भन्दै कानुनी तथा प्रशासनिक क्षेत्रका जानकारहरूले प्रश्न उठाएका छन् ।

    उनीहरूका अनुसार आवेदन प्रक्रिया सुरु भएपछि मापदण्ड परिवर्तन गरिए पुनः पर्याप्त समयसहित नयाँ सूचना जारी गर्नुपर्ने प्रशासनिक सिद्धान्तको बेवास्ता गरिएको छ ।

    यस विषयमा केही आवेदकले सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना समक्ष आपत्ति जनाएका थिए ।

    मन्त्रालय स्रोतका अनुसार त्यसपछि आवेदन दिएका सबैलाई योग्य मानेर प्रक्रिया अगाडि बढाइएको छ ।

    मन्त्रालयभित्रै पनि यस प्रक्रियाप्रति असन्तुष्टि रहेको बताइन्छ ।

    नियुक्ति प्रक्रियामा गठन गरिएको सिफारिस समितिमाथि पनि गम्भीर प्रश्न उठेको छ ।

    दूरसञ्चार ऐन, २०५३ अनुसार अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सम्बन्धित क्षेत्रका विज्ञ सम्मिलित समिति गठन गर्नुपर्ने व्यवस्था छ ।

    तर हाल गठित समितिमा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत संयोजक, दूरसञ्चार विज्ञ आनन्दराज खनाल सदस्य तथा सहसचिव सुवासचन्द्र सिवाकोटी सदस्यसचिव छन् ।

    विज्ञहरूका अनुसार दूरसञ्चार, कानुन, प्रशासन, वित्त, लेखापरीक्षण तथा बजार व्यवस्थापनजस्ता क्षेत्रको प्रतिनिधित्व आवश्यक भए पनि समिति सीमित व्यक्तिमा केन्द्रित बनाइएको छ ।

    मन्त्रालयकै कर्मचारीहरूका अनुसार समिति गठन प्रक्रियाले पारदर्शितामाथि प्रश्न उठाएको छ ।

    विशेषगरी समिति सदस्य आनन्दराज खनालको भूमिकालाई लिएर विवाद बढेको छ ।

    प्राधिकरणका पूर्वकर्मचारीसमेत रहेका खनालले हाल निजी दूरसञ्चार सेवा प्रदायक एनसेललाई परामर्श सेवा दिइरहेको आरोप छ ।

    निजी सेवा प्रदायकसँग सम्बन्धित व्यक्तिलाई नियामक निकायको नेतृत्व छनोट गर्ने समितिमा राख्नु स्वार्थको द्वन्द्व भएको भन्दै उजुरीसमेत परेको बताइएको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल र नेपाल टेलिकम लगायत सेवा प्रदायकमाथि स्पेक्ट्रम, लाइसेन्स, शुल्क तथा कारबाहीसम्बन्धी निर्णय गर्ने अधिकार राख्छ ।

    यस्तो संवेदनशील नियामक निकायको नेतृत्व चयन प्रक्रियामा निजी कम्पनीसँग निकट सम्बन्ध भएका व्यक्तिको प्रभाव देखिनु सुशासनविपरीत भएको कानुनविद्हरूको भनाइ छ ।

    स्वार्थको द्वन्द्वको अर्को प्रश्न सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतमाथि पनि उठेको छ ।

    सचिव बस्नेत नेपाल टेलिकमको सञ्चालक समितिको पदेन अध्यक्षसमेत हुन् ।

    उनी नै प्राधिकरण नेतृत्व चयनका लागि गठित सिफारिस समितिको संयोजक बनेपछि निष्पक्षतामाथि प्रश्न उठाइएको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेत मन्त्रालयको कार्यशैलीप्रति सन्तुष्ट नरहेको स्रोतहरूको दाबी छ ।

    आवेदनपछि मापदण्ड परिवर्तन गरिएको, निश्चित व्यक्तिलाई लक्षित गरी प्रक्रिया अघि बढाइएको तथा नेपाल टेलिकमसँग प्रत्यक्ष सम्बन्धित सचिवलाई नै समितिको संयोजक बनाइएको विषयलाई प्रधानमन्त्री कार्यालयले गम्भीर रूपमा लिएको बताइन्छ ।

    यसबीच बिचौलिया व्यवसायी दीपक भट्टसँग निकट सम्बन्ध रहेका व्यक्तिका लागि मापदण्ड परिवर्तन गरिएको आरोपसमेत सार्वजनिक भएको छ ।

    किङ्स कलेजमा अध्यापनरत एक प्रत्याशीलाई लक्षित गरी प्रक्रिया अघि बढाइएको उजुरी प्रधानमन्त्री कार्यालयसम्म पुगेको स्रोतको दाबी छ ।

    स्रोतहरूका अनुसार एनसेलले प्राधिकरणको नेतृत्व आफूअनुकूल बनाउन सक्रिय चासो देखाइरहेको छ ।

    एनसेल आजियाटाले नेपाली साझेदारमार्फत कम्पनी संरचना कायम राख्ने रणनीतिअन्तर्गत नियामक निकायमा प्रभाव विस्तार गर्न खोजेको आरोपसमेत लागिरहेको छ ।

    यसअघि पनि प्राधिकरण अध्यक्ष नियुक्तिमा निजी क्षेत्रको प्रभाव देखिएको कर्मचारीहरू बताउँछन् ।

    यद्यपि, एनसेलले भने यी आरोप अस्वीकार गरेको छ ।

    कम्पनीकी कर्पोरेट कम्युनिकेशन डाइरेक्टर विशाखा लक्ष्मी खड्काले नेतृत्व चयन प्रक्रियामा एनसेलको कुनै हस्तक्षेप नरहेको दाबी गरिन् ।

    ‘दूरसञ्चार प्राधिकरणको नेतृत्व चयनमा एनसेलले प्रभाव पार्ने भन्ने कुरा सत्य होइन । हामी यस्ता विषयमा कुनै भूमिका खेल्दैनौं,’ उनले भनिन् ।

    यसैबीच, दूरसञ्चार ऐनअनुसार बहुक्षेत्रीय विज्ञ सहभागी गराएर नयाँ सिफारिस समिति गठन गर्न सरकारमाथि दबाब बढ्दै गएको छ ।

    मन्त्री तिमिल्सिनाले पनि पछिल्ला दिनमा स्वार्थको द्वन्द्व टार्न नेपाल टेलिकम वा निजी सेवा प्रदायकसँग प्रत्यक्ष सम्बन्धित व्यक्तिलाई नियुक्ति प्रक्रियाबाट अलग राख्नुपर्ने अडान लिँदै आएको मन्त्रालय स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images