काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रस्तावित भारत भ्रमणलाई लिएर पार्टीभित्रै बहस चर्किएको छ ।
भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी जेठ १८ गते नयाँदिल्ली जाने चर्चा सार्वजनिक भएसँगै राजनीतिक र कूटनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको हो ।
भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायत उच्च अधिकारीसँग भेटवार्ता हुन सक्ने चर्चा भए पनि रास्वपाले औपचारिक रूपमा कुनै जानकारी दिएको छैन ।
पार्टीभित्रै पनि भ्रमणबारे संस्थागत छलफल नभएको भन्दै असन्तुष्टि देखिएको छ ।
नेपाल–भारत सम्बन्ध संवेदनशील बनेको बेला सत्तारुढ दलका शीर्ष नेताको सम्भावित भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
लिपुलेक, कालापानी, पञ्चेश्वर र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलजस्ता विषयमा नेपालभित्र भारतप्रति असन्तुष्टि बढिरहेका बेला यो भ्रमणलाई कतिपयले सम्बन्ध सुधारको प्रयासका रूपमा हेरेका छन् ।
यता, बालेन शाह र रवि लामिछानेबीचको राजनीतिक समीकरण तथा रास्वपाभित्रको शक्ति सन्तुलनसँग पनि भ्रमणलाई जोडेर चर्चा हुन थालेको छ ।
केही विश्लेषकहरूले यसलाई पार्टीभित्र अलग कूटनीतिक लाइन निर्माणको संकेतका रूपमा समेत व्याख्या गरेका छन् ।
रास्वपा स्रोतका अनुसार भ्रमणबारे अन्तिम निर्णय अझै स्पष्ट भइसकेको छैन भने पार्टीभित्र तयारीबिना उच्चस्तरीय भ्रमणमा जान नहुने मत बलियो बन्दै गएको छ ।






















