काठमाडौं– सिन्धुलीको खुर्कोट प्रहरी हिरासतमा थुनुवा श्रीकृष्ण विकको मृत्यु प्रकरणमा नेपाल प्रहरीले एसपीदेखि जवानसम्म १० प्रहरी कर्मचारीमाथि कारबाही सिफारिस गरेको छ ।
प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य नेतृत्वको छानबिन समितिले हिरासत व्यवस्थापन, निगरानी प्रणाली र अनुसन्धान समन्वयमा गम्भीर कमजोरी देखिएको निष्कर्षसहित प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनअनुसार एक जनालाई सचेत, दुई जनालाई ध्यानाकर्षण, पाँच जनालाई कडा चेतावनीसहित जिम्मेवारीबाट अलग, एक जनालाई नसिहत तथा अर्का एक जनाको ग्रेड घटुवा गर्न सिफारिस गरिएको छ ।
समितिले हिरासत व्यवस्थापन कार्य निर्देशन प्रभावकारी रूपमा लागू नभएको, नियमित निगरानी कमजोर रहेको र जोखिम संकेत समयमै रिपोर्ट नगरिएको उल्लेख गरेको छ ।
समितिले हिरासतमा सीसीटीभी तथा प्रत्यक्ष निगरानी प्रणाली मजबुत बनाउन, थुनुवाको मानसिक तथा स्वास्थ्य अवस्थाको नियमित मूल्यांकन गर्न र संवेदनशील घटनामा थप सावधानी अपनाउन सुझाव दिएको छ ।






















