images
images
  • यात्रामा हुनुहुन्छ ? यी राजमार्गहरू छन् अवरुद्ध (सूचीसहित)

    काठमाडौं– लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् ।

    नेपाल प्रहरीले शुक्रबार बिहान ८ बजेसम्मको विवरण सार्वजनिक गर्दै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्ड प्रभावित भएको जनाएको छ ।

    कोशी प्रदेशअन्तर्गत भोजपुरमा बाढीका कारण मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

    भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा सडकमा समस्या देखिएको प्रहरीले जनाएको छ ।

    यस्तै, सङ्खुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्ती र भोटखोला गाउँपालिका–४ सिङ्गुटीमा पहिरो खस्दा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    पाँचथरका विभिन्न स्थानमा समेत पहिरोले सडक अवरुद्ध बनाएको छ ।

    याङवरक गाउँपालिका–३ ओयाम बजार, वडा नं.–२ दोभान तथा वडा नं.–३ रिजालभिर क्षेत्रमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

    बागमती प्रदेशमा काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कुशादेवी सडक खण्डमा सम्भावित बाढीका कारण सवारी सञ्चालनमा रोक लगाइएको छ ।

    गण्डकी प्रदेशमा म्याग्दी जिल्लाको बेनी–जोमसोम सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ जलथले र रघुगंगा गाउँपालिका–३ तल्लो बैरेनी क्षेत्रमा पहिरो खस्दा एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको छ ।

    यस्तै, कर्णाली प्रदेशको हुम्लामा जिल्लाको सिमकोट सडक खण्डअन्तर्गत वडा नं.–२ क्षेत्रमा सम्भावित पहिरोका कारण सवारी साधन सञ्चालन पूर्ण रूपमा रोकिएको छ ।

    प्रहरीले वर्षाका कारण थप जोखिम हुन सक्ने भन्दै अत्यावश्यक बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै परे सम्बन्धित निकायसँग सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।

    707532561 983101067776294 6531125109320312883 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images