काठमाडौं– एसियन गेम्सको तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ ।
आज बिहान सम्पन्न खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।
पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८२ रन मात्र बनाउन सक्यो ।
उसका लागि आइन्ना हमिजाह हाशिमले १७, धनुश्री मुहुननले १५ र नुर एरियाना नात्स्यले १२ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
नेपालका तर्फबाट रुविना क्षेत्री, कविता कुँवर र रिया शर्माले उत्कृष्ट बलिङ गर्दै २–२ विकेट लिए ।
८३ रनको सामान्य लक्ष्य नेपालले १६ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो ।
जितमा सम्झना खड्काले अविजित ३९ रनको महत्वपूर्ण पारी खेलिन् ।
कविता कुँवरले १९ र सोनी पाख्रिनले १२ रनको योगदान दिए ।
यो जितसँगै नेपालले मलेसियामाथि लगातार दोस्रो सफलता हात पारेको हो ।
यसअघि बुधबार भएको खेलमा पनि नेपालले मलेसियालाई २ विकेटले पराजित गरेको थियो ।


विश्व खबर 



















