images
images
  • स्मार्ट–एनसेल प्रकरण : सत्ता बालेनको, राइँदाइँ सतीशलालको !

    काठमाडौं– नेपाली दूरसञ्चार क्षेत्रमा लामो समयदेखि प्रभाव जमाउँदै आएका विवादित व्यवसायी सतीशलाल आचार्यको नाम पछिल्लो समय स्मार्ट टेलिकम–एनसेल प्रकरणसँग जोडिएपछि सत्ता, प्रशासन र सुरक्षा निकायसम्म तरंग फैलिएको छ ।

    स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन र लिलामी प्रक्रियामाथि छानबिन तीव्र बन्दै जाँदा प्रधानमन्त्री बालेन्द्र शाहदेखि पूर्वसञ्चारमन्त्री, नियामक निकायका अधिकारी तथा निजी दूरसञ्चार कम्पनीका उच्च पदाधिकारीसमेत अनुसन्धानको घेरामा पर्न सक्ने चर्चा चुलिएको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियामार्फत एनसेल आजियाटासँग जोड्ने प्रयास भएको आशंकामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान अघि बढाइरहेका बेला आचार्यले राजनीतिक र प्रशासनिक तहमा ‘सेटिङ’ मिलाएर अनुसन्धान प्रभावित पार्न खोजेको आरोप लागेको छ ।

    प्रधानमन्त्री शाह नेतृत्वको सरकार गठनलगत्तै सीआईबीले स्मार्ट–एनसेल लिलामी प्रकरणमा सक्रियता बढाएको थियो । अनुसन्धानले तत्कालीन सञ्चारमन्त्री जगदीश खरेल, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी, बैंक अधिकारी तथा एनसेलका उच्च व्यवस्थापन तहसम्म पुग्ने संकेत देखिएपछि प्रकरण थप संवेदनशील बनेको हो ।

    गत ३१ वैशाखमा सीआईबीले एनसेलको कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात, ल्यापटप तथा कम्प्युटर नियन्त्रणमा लिएपछि कम्पनीका केही विदेशी अधिकारीहरू नेपालबाट बाहिरिएको स्रोतहरूको दाबी छ । अनुसन्धानको दायरा विस्तार हुँदै जाँदा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले बैंकलाई रकम फिर्ता गर्न पत्राचार गर्दै नेपाल छाडेका थिए ।

    स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियामार्फत सरकारी सम्पत्ति अनियमित ढंगले निजी स्वार्थमा हस्तान्तरण गर्न खोजिएको आशंकामा सीआईबीले बैंकका केही उच्च अधिकारीलाई नियन्त्रणमा लिए पनि निर्णय प्रक्रियामा संलग्न भनिएका पूर्वमन्त्री, नियामक निकायका अधिकारी र निजी कम्पनीका जिम्मेवार व्यक्तिहरूमाथि अपेक्षित कारबाही अघि नबढेको भन्दै प्रश्न उठ्न थालेको छ ।

    राजनीतिक परिवर्तनपछि सत्ता र प्रशासनिक तहमा पहुँच विस्तार गर्दै आचार्यले अनुसन्धानलाई नै प्रभावित बनाउने प्रयास गरेको आरोप स्रोतहरूले लगाएका छन् । यही कारण बैंकका केही अधिकारी रिहा हुनुका साथै अनुसन्धानको गति सुस्त भएको दाबीसमेत गरिएको छ ।

    स्मार्ट टेलिकमसँग सम्बन्धित विवादमा कम्पनी सञ्चालक सर्वेश जोशी तथा लिलामी प्रक्रियामा संलग्न भनिएका व्यवसायी नरेन्द्र उलक श्रेष्ठ र पालिना श्रेष्ठ पक्राउ परेपछि एनसेल व्यवस्थापन दबाबमा परेको बताइन्छ । लिलामीमार्फत सम्पत्ति आफ्नो स्वामित्वमा ल्याउने योजना असफल हुने संकेत देखिएपछि एनसेलका सीईओ फोलेले बैंकमा बुझाएको ४ अर्ब ६० करोड रुपैयाँ फिर्ता माग गर्दै २९ वैशाखमा पत्र पठाएका थिए ।

    अनुसन्धानको दायरामा आफू पनि तानिन सक्ने आकलनपछि एनसेलका केही विदेशी अधिकारी सिंगापुरलगायत अन्य मुलुकतर्फ गएको बताइन्छ । स्रोतका अनुसार चिफ फाइनान्स अफिसर इनामुल कबीर, चिफ बिजनेस अफिसर साल्भाडोर एन्टोनियो, चिफ कन्जुमर अफिसर उपङ्ग दत्त तथा चिफ ह्युमन रिसोर्स अफिसर अफ्रिन हुँदासमेत नेपालबाहिर गएका छन् ।

    सीआईबी स्रोतका अनुसार अनुसन्धान अझै जारी छ र यसमा संलग्न व्यक्तिहरूको सम्बन्ध तथा आर्थिक नेटवर्कबारे विस्तृत अध्ययन भइरहेको छ । “को–को संलग्न छन् र उनीहरूको पहुँच कहाँसम्म छ भन्ने विषयमा गहिरो अनुसन्धान भइरहेको छ,” सीआईबी निकट एक अधिकारीले बताए ।

    यस प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारीसहित केही उच्च अधिकारी पनि सार्वजनिक रूपमा मौन देखिएका छन् । बैंक अधिकारी पक्राउ परेपछि एनसेलका सीईओ विदेशिएको घटनाले उनीहरू थप दबाबमा परेको स्रोतहरूको भनाइ छ ।

    स्मार्ट टेलिकम र एनसेलबीचको सम्बन्ध तथा सम्पत्ति व्यवस्थापन प्रक्रियामा सतीशलाल आचार्यको भूमिका निर्णायक रहेको दाबी हुँदै आएको छ । स्रोतका अनुसार आचार्य स्वयं पनि हाल सिंगापुर पुगेका छन् । उनीसँग निकट सम्बन्ध रहेका केही व्यावसायिक साझेदारहरू पनि विदेशमा रहेको बताइएको छ ।

    राजनीतिक नेतृत्व, सञ्चार मन्त्रालय र नियामक निकायसम्म पहुँच बनाउँदै आएका आचार्यले नेपालमा परिस्थिति प्रतिकूल बने वैकल्पिक रूपमा सिंगापुरको नागरिकता प्रयोग गर्न सक्ने चर्चा पनि सुरु भएको छ । स्रोतहरूका अनुसार उनले सिंगापुरको नागरिकता लिइसकेको दाबी गरिए पनि यसको आधिकारिक पुष्टि भने भएको छैन ।

    स्मार्ट टेलिकम र एनसेलबीचको सम्बन्ध, सरकारी सम्पत्तिको व्यवस्थापन प्रक्रिया तथा अर्बौं रुपैयाँको आर्थिक चलखेलबारे अनुसन्धान अझै जारी रहेकाले आगामी दिनमा थप उच्च पदाधिकारी तानिन सक्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images