images
images
  • यसरी डुब्यो तत्कालीन ओली सरकारका ४ निर्णयले राज्यको ३० अर्ब

    काठमाडौं– नेपालको दूरसञ्चार क्षेत्रकै सबैभन्दा विवादास्पद आर्थिक प्रकरणमध्ये एक बनेको स्मार्ट प्रकरणले राज्यलाई अर्बौं रुपैयाँको क्षति पुर्‍याएको छ । कुनै समय देशकै तेस्रो ठूलो दूरसञ्चार सेवा प्रदायकका रूपमा परिचित कम्पनीलाई राजनीतिक संरक्षण, नीतिगत चलखेल र शक्तिकेन्द्रको दबाबमार्फत जोगाउने प्रयास हुँदा अन्ततः राज्यले झण्डै ३० अर्ब रुपैयाँ बराबरको आर्थिक नोक्सानी बेहोर्नुपरेको अवस्था बनेको हो ।

    साढे ६ वर्षअघि नै खारेज भइसकेको अनुमतिपत्र पुनः ब्युँताएर सञ्चालनको अवसर दिनु, पटक–पटक बक्यौता तिर्न म्याद थप गर्नु र नियामक निकायको निर्णय उल्ट्याउनुजस्ता काम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको थियो । यदि २०७६ सालमै खारेजीको निर्णय कार्यान्वयन हुन दिइएको भए आज राज्यले यति ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आउने थिएन ।

    यसरी जोगाइयो कम्पनी

    राज्यलाई बुझाउनुपर्ने बक्यौता नतिरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले १२ साउन २०७६ मा कम्पनीको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको थियो । त्यतिबेला कम्पनीले करिब २ अर्ब ३२ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी थियो ।

    प्राधिकरणको निर्णयलगत्तै कम्पनीका प्रतिनिधिहरू तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटासमक्ष पुगे । त्यसपछि मन्त्रिपरिषद्बाटै प्राधिकरणको निर्णय उल्ट्याउने प्रक्रिया सुरु भयो ।

    २१ पुस २०७६ को मन्त्रिपरिषद् बैठकले अनुमतिपत्र खारेजीको निर्णय मात्र होइन, कम्पनीलाई पठाइएको पत्रसमेत बदर गरिदियो । त्यतिमात्र होइन, सरकारले बक्यौता रकम पाँच किस्तामा तिर्ने सुविधा समेत उपलब्ध गरायो । तर सुविधा पाएपछि पनि कम्पनीले पहिलो किस्तासमेत समयमा बुझाएन ।

    ओली सरकारका चार विवादास्पद निर्णय

    पहिलो निर्णय : २१ पुस २०७६

    प्राधिकरणको खारेजी निर्णय उल्ट्याएर कम्पनीलाई पुनः सञ्चालनको अवसर दिइयो ।

    दोस्रो निर्णय : २९ भदौ २०७७

    पहिलो किस्ता नतिरेपछि पनि सरकारले थप ६ महिनाको समय दियो । त्यतिबेला सञ्चार मन्त्रालय प्रधानमन्त्री ओलीकै मातहतमा थियो ।

    तेस्रो निर्णय : १ चैत २०७७

    फेरि बक्यौता नतिरेपछि अर्को पटक २०७८ सम्मको म्याद थपियो ।

    चौथो निर्णय : २८ असार २०७८

    ओली नेतृत्वकै मन्त्रिपरिषद्ले पुनः पुस मसान्तसम्म रकम तिर्न समय थपिदियो ।

    तर पटक–पटक छुट र सहुलियत पाए पनि कम्पनीले राज्यलाई बुझाउनुपर्ने रकम तिरेन । उल्टै बक्यौता, दस्तुर, रोयल्टी र फ्रिक्वेन्सी शुल्क बढ्दै गएर अर्बौंमा पुग्यो ।

    कम्पनी आर्थिक रूपमा टाट पल्टिसकेको थियो

    आर्थिक वर्ष २०७७/०७८ को वित्तीय विवरण विश्लेषण गर्दा कम्पनी वस्तुतः टाट पल्टिसकेको देखिएको थियो । कम्पनीको कुल सम्पत्ति करिब ५ अर्ब २७ करोड रुपैयाँ मात्रै थियो भने दायित्व १३ अर्ब ६९ करोड रुपैयाँ नाघिसकेको थियो ।

    २०८३ सम्म आइपुग्दा राज्यले गुमाएको रकम ३० अर्ब रुपैयाँभन्दा बढी पुगेको अनुमान छ । रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष र फ्रिक्वेन्सी शुल्क मात्रै करिब ७ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

    अदालतसम्म पुग्यो चलखेल

    १० वर्षे अनुमतिपत्रको अवधि सकिएपछि २ वैशाख २०८० मा कम्पनीको अनुमतिपत्र स्वतः खारेज भयो । त्यसपछि कम्पनीले राजनीतिक र कानुनी दबाबमार्फत फेरि अनुमतिपत्र जोगाउने प्रयास गर्‍यो ।

    प्रतिनिधिसभामै तत्कालीन सांसद पदम गिरीले कम्पनीले मन्त्रीहरूको घरघर धाएर अनुमतिपत्र जोगाउन खोजिरहेको आरोप लगाएका थिए ।

    अनुमतिपत्र खारेज भएपछि कम्पनी अदालत पुग्यो । उच्च अदालत पाटनबाट अन्तरिम आदेश जारी भएपछि केही समय प्राधिकरणको निर्णय रोकिएको थियो । तर पछि संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि कम्पनीको अन्तिम प्रयास पनि असफल भयो ।

    बैंकले सम्पत्ति लिलाम गरेपछि राज्य खाली हात

    अनुमतिपत्र पूर्ण रूपमा रद्द भएपछि नेपाल दूरसञ्चार प्राधिकरणले कम्पनीको सम्पत्ति, पूर्वाधार र सञ्जाल आफ्नो नियन्त्रणमा आएको घोषणा गरेको थियो । तर त्यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋण असुलीका नाममा कम्पनीका सम्पत्ति र पूर्वाधार लिलामी प्रक्रिया अघि बढायो ।

    कानुनअनुसार दूरसञ्चार पूर्वाधार राज्यको मातहतमा आइसकेको अवस्थामा समेत बैंकले एकलौटी रूपमा लिलामी प्रक्रिया अघि बढाएपछि राज्यले असुल गर्नुपर्ने अर्बौं रुपैयाँ उठ्ने सम्भावना लगभग समाप्त भएको छ ।

    राजनीतिक संरक्षणको मूल्य राज्यले तिर्‍यो

    यदि २०७६ सालमै अनुमतिपत्र खारेज गर्ने निर्णय कार्यान्वयन भएको भए कम्पनीको सम्पत्ति जफत गरेर तथा लगानीकर्ताको जायजेथाबाट समेत रकम असुल गर्न सकिने अवस्था थियो । तर राजनीतिक संरक्षण, बिचौलियाको चलखेल, मन्त्रिपरिषद्को हस्तक्षेप र नियामक निकायलाई कमजोर बनाउने प्रवृत्तिका कारण अन्ततः राज्यले अर्बौं रुपैयाँ गुमायो ।

    यो प्रकरणले सीमित व्यापारी र राजनीतिक पहुँचवालाहरूको स्वार्थ जोगाउन राज्य संयन्त्र कसरी प्रयोग गरिन्छ भन्ने गम्भीर प्रश्न खडा गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images