काठमाडौं– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित २९ जनाविरुद्ध करिब २० अर्ब रुपैयाँ बिगो दाबी गर्दै मुद्दा चलाउन सिफारिस गरेको छ ।
विभागले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइसकेको छ र छिट्टै मुद्दा दायर हुने तयारी भइरहेको स्रोतले जनाएको छ ।
अनुसन्धान अनुसार हिमालयन रि–इन्स्योरेन्स, हिमालयन सेक्युरिटिज बैंकर, एचएलआई लार्ज क्याप फन्ड र नेपाल माइक्रो इन्स्योरेन्सलगायत सूचीकृत कम्पनीबाट सर्वसाधारणको करिब ३ अर्ब ७३ करोड रुपैयाँ गैरकानुनी रूपमा सारिएको आरोप छ ।
उक्त रकम प्रयोग गरेर नेपाल पुनर्बिमा कम्पनीको सेयर खरिद गरिएको र बजारमा कृत्रिम मूल्यवृद्धि गराइएको दाबी गरिएको छ ।
प्रकरणमा शेखर गोल्छा, शंकरलाल अग्रवाल, सुभी अग्रवाल, राजबहादुर शाह, ऋषिराज मोर लगायतमाथि पनि अनुसन्धान भएको छ ।
विभागले उनीहरूलाई बिमा, धितोपत्र र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाएको छ ।
अनुसन्धानमा संलग्न निकायहरूका अनुसार भृकुटी स्टक ब्रोकिङमार्फत उधारो तथा गैरकानुनी सेयर कारोबार गरी बजार प्रभावित बनाइएको, कम्पनीको रकम दुरुपयोग गरिएको तथा सम्पत्तिको स्रोत लुकाउने प्रयास भएको निष्कर्ष निकालिएको छ ।
यस प्रकरणमा सम्पत्ति शुद्धीकरण विभागसँगै सीआईबीले पनि धितोपत्र बजारमा हेरफेरसम्बन्धी छुट्टै अनुसन्धान गरिरहेको छ ।






















