काठमाडौं– इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा सार्वजनिक रूपमा हतियार प्रदर्शन बढाइएको छ ।
इरानी क्रान्तिकारी गार्डका सदस्यहरूले सर्वसाधारणलाई ‘आक्रमणकारी’ राइफल चलाउने तालिम दिन थालेका छन् भने राजधानीका सडकमा सैन्य सवारीसाधनसहित मेसिनगन प्रदर्शन गरिँदै आएको छ ।
एक सामूहिक विवाह समारोहमा इजरायलमाथि क्लस्टर बम प्रहार गर्न प्रयोग गरिएको जस्तै ब्यालिस्टिक क्षेप्यास्त्रसमेत मञ्चमा सजाइएको देखिएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता असफल भएमा इरानविरुद्ध पुनः युद्ध सुरु हुन सक्ने चेतावनी दिएपछि इरानले शक्ति प्रदर्शनलाई अझ तीव्र बनाएको विश्लेषण गरिएको छ ।
विशेषगरी हर्मुज जलडमरूमध्यमा इरानको नियन्त्रण कायम रहे तनाव बढ्न सक्ने संकेत देखिएको छ ।
रिपोर्टअनुसार अमेरिकाले इरानको उच्चस्तरीय संवर्धित युरेनियम भण्डार बल प्रयोग गरेर नियन्त्रणमा लिन सक्ने संकेत दिएपछि इरानले जनस्तरमा पनि तयारी बढाएको हो ।
यसअघि ट्रम्पले कुर्द लडाकुमार्फत सरकारविरोधी प्रदर्शनकारीलाई हतियार पठाएको दाबीसमेत गरेका थिए ।
यसबीच इरानमा बढ्दो महँगी, व्यापार बन्द, रोजगारी गुम्ने अवस्था तथा खाद्यान्न र औषधिको मूल्यवृद्धिका कारण सर्वसाधारणमा चिन्ता बढिरहेको छ ।
यस्ता कठिन परिस्थितिमा सरकार समर्थक कठोर समूहलाई उत्साहित गर्न तथा सम्भावित विरोध प्रदर्शन नियन्त्रणमा राख्न पनि हतियार प्रदर्शन उपयोग गरिएको विश्लेषण गरिएको छ ।
तेहरानका ४७ वर्षीय अली मोफिदीले हतियार तालिम कार्यक्रममा सहभागी हुँदै “अहिलेको अवस्था युद्धजस्तै भएकाले सबै नागरिकले बन्दुक चलाउन जान्नु आवश्यक छ” भनको एपीले उल्लेख गरेको छ ।
पछिल्ला महिनाहरूमा सरकारी सञ्चारमाध्यम तथा सन्देशमार्फत नागरिकलाई “ज्यान अर्पण गर्न तयार हुने” अभियानमा सहभागी हुन आह्वान गरिएको छ ।
केही कट्टरपन्थी समूहहरूले १२ वर्षसम्मका बालबालिकालाई समेत सुरक्षा जाँच चौकीमा खटिन प्रोत्साहित गरेको आरोप लागेको छ, जसलाई मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले युद्ध अपराधको संज्ञा दिएको छ ।
इरानी अधिकारीहरूले करिब ९ करोड जनसंख्या रहेको देशमा ३ करोडभन्दा बढी नागरिकले अनलाइन वा सार्वजनिक कार्यक्रममार्फत सरकारका लागि ज्यान दिन तयार रहेको दाबी गरेका छन् ।
यद्यपि उक्त तथ्य स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।


विश्व खबर 




















