काठमाडौं– सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका बचतकर्तालाई रकम फिर्ता गर्न सम्पत्ति व्यवस्थापनमार्फत समाधान खोज्ने प्रक्रिया अघि बढाइएको छ। बागमती प्रदेशअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सुमेरु सहकारीका सम्पत्तिहरू व्यवस्थापनका लागि प्रस्ताव आह्वान गरेको हो।
समितिका अनुसार सुमेरु मार्ट, धापाखेलस्थित सुमेरु अस्पताल, पुल्चोकको सुमेरु सिटी अस्पताल, एसियन कलेज र शंकरापुर कलेज लगायतका सम्पत्तिहरू बैंक ऋणको धितोमा रहेका छन् र हाल कर्जा नतिरेपछि लिलामी प्रक्रियामा छन्।
लिलामी गर्दा वास्तविक मूल्य नआउने र बचतकर्ताको रकम फिर्ता प्रभावित हुने देखिएपछि सम्पत्तिलाई प्याकेजमा व्यवस्थापन गर्ने प्रस्ताव अघि सारिएको हो। यसअनुसार बचतकर्ताले आफ्नो बचत रकम मिलानमार्फत सम्पत्तिमा स्वामित्व लिन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
पहिलो चरणमा धापाखेल, पुल्चोक र शंकरापुर क्षेत्रमा रहेका अस्पताल तथा शैक्षिक संस्थाका जग्गा र भवन समेटिएको प्याकेज तयार गरिएको छ। समितिले उक्त सम्पत्तिका लागि न्यूनतम ६० करोड रुपैयाँको एकमुस्ट प्रस्ताव माग गरेको छ।
प्रस्तावकर्ताले ७० प्रतिशत रकम बचत मिलानमार्फत र ३० प्रतिशत नगदमा उपलब्ध गराउनुपर्नेछ। इच्छुक समूह वा व्यक्ति ७ दिनभित्र प्रस्ताव दिन सक्नेछन् भने स्वीकृत प्रस्तावकर्ताले १५ दिनभित्र सम्पूर्ण रकम बुझाउनुपर्नेछ। साथै कुल रकमको १० प्रतिशत धरौटी अनिवार्य गरिएको छ।























