काठमाडौं– भारतको सामाजिक सञ्जालमा अहिले ‘ककरोच जनता पार्टी’ नामक एक व्यङ्ग्यात्मक डिजिटल आन्दोलनले ठूलो चर्चा बटुलिरहेको छ । परम्परागत राजनीतिक दलभन्दा फरक यो कुनै निर्वाचन आयोगमा दर्ता भएको पार्टी होइन, बरु राजनीतिक अवस्थामाथि व्यङ्ग्य गर्ने एक अनलाइन अभियान हो ।
भान्सामा भेटिने साङ्ग्लो (ककरोच) लाई प्रतीक बनाएर सुरु गरिएको यो अभियानले बेरोजगारी, महँगी र भ्रष्टाचारजस्ता समस्यामा परेका आम नागरिकको अवस्थालाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेको छ । ककरोच जस्तै कठिन परिस्थितिमा पनि बाँचिरहेका नागरिकको पीडा यसले प्रतीकात्मक रूपमा देखाएको छ ।
यो अभियानका मुख्य अनुहार डिजिटल कन्टेन्ट क्रिएटर अभिजीत दीपके हुन्, जसले यसलाई राजनीतिक सटायर र सामाजिक चेतना फैलाउने माध्यमका रूपमा अघि सारेका छन् । उनका अनुसार यसको उद्देश्य सत्ता कब्जा गर्नु नभई प्रणालीमाथि प्रश्न उठाउनु हो ।
इन्स्टाग्राम, एक्स र युट्युबजस्ता प्लेटफर्ममा छोटो समयमै यसको सामग्री भाइरल भएको छ । ४ दिनमै १ करोडभन्दा बढी फलोअर्स पुगेको दाबी गरिएको छ, जसमा ठूलो हिस्सा १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरू छन् ।
डिजिटल र्याली, मिम्स र व्यङ्ग्यात्मक घोषणापत्रमार्फत यो अभियानले परम्परागत राजनीतिक शैलीलाई चुनौती दिइरहेको छ । सामाजिक सञ्जालकै शक्तिका कारण यो अभियान तीव्र रूपमा फैलिएको विश्लेषण गरिएको छ ।


विश्व खबर 




















