काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच इरान युद्धका विषयमा भएको टेलिफोन वार्ता तनावपूर्ण बनेको खुलासा भएको छ ।
वाल स्ट्रिट जर्नलका अनुसार मंगलबार भएको करिब एक घन्टा लामो कुराकानीमा दुई नेताबीच रणनीतिमा गम्भीर मतभेद देखिएको हो ।
ट्रम्प तत्काल सैन्य आक्रमणभन्दा कूटनीतिक वार्तामार्फत इरानसँग सम्झौताको पक्षमा रहेको बताइन्छ ।
उनले वार्तालाई थप समय दिनुपर्ने धारणा राखेका थिए ।
तर नेतन्याहूले भने इरानविरुद्ध पुनः सैन्य कारबाही सुरु गर्न दबाब दिएको रिपोर्टमा उल्लेख छ ।
यसअघि आइतबार पनि उनीहरूबीच लामो संवाद भएको थियो, जसमा सम्भावित अमेरिकी आक्रमणबारे जानकारी आदान–प्रदान भएको दाबी गरिएको छ ।
तर ट्रम्पले पछि खाडी मुलुकहरूको आग्रहपछि तय गरिएको आक्रमण स्थगित गरेका थिए, जसबाट नेतन्याहू असन्तुष्ट बनेको बताइन्छ ।
सीएनएनका अनुसार अहिले अमेरिका, खाडी मुलुक र केही मध्यस्थकर्ताबीच कूटनीतिक रूपरेखा तयार गर्ने प्रयास तीव्र भइरहेको छ ।
इरानले पनि पाकिस्तानमार्फत अमेरिकासँग संवाद जारी राखेको जनाएको छ, तर मुख्य विवादमा प्रगति नभएको बताइएको छ ।
यसबीच साउदी अरबले तनाव कम गर्न आग्रह गरेको छ भने इरानले पुनः आक्रमण भए युद्ध विस्तार हुने चेतावनी दिएको छ ।
मध्यपूर्वी क्षेत्रका अधिकारीहरूले आगामी दिन वा साताभित्र अमेरिका–इजराइल संयुक्त सैन्य कारबाहीको सम्भावना अझै कायम रहेको बताएका छन् ।


विश्व खबर 




















