काठमाडौं– रास्वपाको पहिलो महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र नेतृत्व चयन र शक्ति सन्तुलनको बहस तीव्र बनेको छ। असार ७–९ गते चितवनमा हुने महाधिवेशनमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह निर्विकल्पजस्तै देखिए पनि उपसभापति र महामन्त्री पदमा भने तीव्र रस्साकस्सी सुरु भएको छ।
विभिन्न राजनीतिक समूह र अभियन्ता समाहित भएर बनेको रास्वपामा सबै पक्षको समान प्रतिनिधित्व सुनिश्चित गर्न सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको नेताहरूले बताएका छन्। उपनेता गणेश पराजुलीले पार्टीभित्र गुट–उपगुटको सम्भावना नरहेको दाबी गर्दै रवि लामिछानेको विकल्प नरहेको बताए।
महाधिवेशनसँगै विधान संशोधन प्रक्रिया पनि अघि बढाइएको छ। सहमहामन्त्री विपिन आचार्य नेतृत्वको कार्यदलले देशभरबाट सुझाव संकलन गरिरहेको छ। केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा पनि छलफल भइरहेको छ।
हाल १२९ सदस्यीय केन्द्रीय समितिको व्यवस्था रहेको र ९९ जना प्रत्यक्ष निर्वाचित हुने प्रावधान छ। महाधिवेशनमा पहिलो चरणमा सभापति र केन्द्रीय सदस्य तथा दोस्रो चरणमा पदाधिकारी चयन गरिनेछ।






















