images
images
  • प्रधानमन्त्रीकै भरमा गृहमन्त्रालय : मन्त्री नहुँदा प्रशासन संयन्त्र अस्तव्यस्त

    काठमाडौं– झन्डै एक महिनादेखि गृहमन्त्री पद रिक्त हुँदा गृह प्रशासन अस्तव्यस्त बन्दै गएको छ। विमानस्थल, सीमा सुरक्षा, अध्यागमन र सुरक्षा रिपोर्टिङजस्ता संवेदनशील काम प्रभावित भएको भन्दै गृह मन्त्रालयभित्रै चिन्ता बढेको छ।

    गृहमन्त्री सुधन गुरुङले ९ वैशाखमा राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले सम्हालेका छन्। तर, प्रधानमन्त्रीले गृह मन्त्रालयमा नियमित रूपमा चासो नदिएको, गृहसचिव र सुरक्षा निकायका प्रमुखसँग समेत प्रभावकारी समन्वय नभएको आरोप छ।

    स्रोतका अनुसार गृह मन्त्रालयको कामकाज प्रधानमन्त्रीका स्वकीयमार्फत सञ्चालन भइरहेको छ। तत्कालीन गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्कीलाई मन्त्रालय समन्वयको जिम्मेवारी दिइएको बताइएको छ। यसलाई लिएर प्रशासनिक संयन्त्र र सुरक्षा निकायभित्र असन्तुष्टि बढेको छ।

    हालै मुस्ताङ नाकाबाट अवैध विद्युतीय भेप बरामद भएपछि सुरक्षा निगरानी र भन्सार प्रणाली कमजोर भएको आशंका समेत बढेको छ। गृह मन्त्रालयका संवेदनशील सूचनाहरू औपचारिक संयन्त्रभन्दा बाहिरबाट व्यवस्थापन भइरहेको भन्दै पूर्वप्रशासकहरूले आपत्ति जनाएका छन्।

    गृहसचिव राजकुमार श्रेष्ठले भने मन्त्रालयको नियमित काम नरोकिएको दाबी गरेका छन्। तर, प्रहरी अधिकारीहरू प्रधानमन्त्रीसँग प्रत्यक्ष रिपोर्टिङको वातावरण नबन्दा सुरक्षा समन्वयमा समस्या भएको बताउँछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images