images
images
  • सर्वोच्चले नदी किनार मापदण्डबारे आफ्नै फैसला सच्यायो, २०६५ कै व्यवस्था कायम

    काठमाडौं– सर्वोच्च अदालत ले काठमाडौं उपत्यकाका नदी तथा खोला किनार निर्माणसम्बन्धी मापदण्डबारे यसअघि संयुक्त इजलासबाट भएको फैसला उल्टाउँदै २०६५ सालकै मापदण्ड कायम रहने फैसला गरेको छ। पूर्ण इजलासले २०८० मा भएको परमादेश पुनरवलोकन गर्दै अतिरिक्त २० मिटर खुला क्षेत्र अनिवार्य गर्ने व्यवस्था खारेज गरेको हो।

    न्यायाधीशहरू सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले कार्यपालिकाको नीतिगत अधिकार क्षेत्रमा अनावश्यक हस्तक्षेप गर्न नमिल्ने भन्दै मन्त्रिपरिषद्ले २०६५ मा तोकेको मापदण्ड नै कानुनी रूपमा लागू हुने ठहर गरेको छ।

    अब बाग्मती, विष्णुमती र मनोहरा खोलामा २० मिटर, नक्खुमा १२ मिटर, बल्खु, कर्मनाशा, कोइकु, साङ्ले र महादेव खोलामा १० मिटर, करखुसीमा ६ मिटर तथा टुकुचा, सामाखुसीलगायत अन्य साना खोलामा ४ मिटर दूरी कायम गरेर मात्र निर्माण गर्न पाइनेछ।

    यसअघि संयुक्त इजलासले नदी किनारमा थप २० मिटर निषेधित क्षेत्र कायम गर्न आदेश दिएपछि व्यापक विवाद भएको थियो। सरकारी कार्यदलका अनुसार उक्त फैसला कार्यान्वयन गर्दा ४२ हजार नागरिक विस्थापित हुने र क्षतिपूर्तिबापत २१ खर्बभन्दा बढी खर्च लाग्ने अवस्था देखिएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images