काठमाडौं– पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न गठित समितिले बैंक, मालपोत कार्यालय र धितोपत्र बोर्डसँग सम्पत्ति, सेयर र बैंकिङ कारोबार सम्बन्धी विवरण माग गरेको छ। समितिले आवश्यक कागजात संकलनपछि गुरुङसँग सोधपुछ गर्ने जनाएको छ।
मन्त्री हुँदा सार्वजनिक गरेको सम्पत्ति विवरणपछि गुरुङ विवादमा तानिएका थिए। हदबन्दीभन्दा बढी जग्गा र अस्वाभाविक सम्पत्ति जोडेको आरोप लागेका उनी विवादित व्यवसायी दीपक भट्ट संलग्न कम्पनीमा संस्थापक सेयरधनी रहेको खुलेपछि वैशाख ९ गते राजीनामा दिएका थिए।
सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मा दिइएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालय आफैंसँग राखेका छन् भने छानबिनपछि मात्रै नयाँ मन्त्री टुंगो लगाउने तयारी गरेका छन्।






















