काठमाडौं– नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाबीच संविधान र गणतन्त्रको रक्षाका लागि ‘वाम–डेमोक्रेट’ गठबन्धन बनाउने तयारी सुरु भएको छ ।
फागुन २१ को निर्वाचनपछि संसदमा कमजोर बनेका तीन दलले बालेन्द्र शाह नेतृत्वको सरकारका गतिविधिविरुद्ध सहकार्य आवश्यक भएको निष्कर्ष निकालेका हुन् ।
तीनै दलका शीर्ष नेताबीच औपचारिक तथा अनौपचारिक छलफल भइरहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमै कांग्रेस र नेकपाका नेतासँग संवाद भइरहेको जानकारी दिएका थिए ।
दलहरूबीच सडक र सदनमा संयुक्त रूपमा प्रस्तुत हुने विषयमा सैद्धान्तिक सहमति बनेको बताइएको छ ।
प्रदेश सरकारको नेतृत्व फेरबदल गरेर नेकपालाई पनि सरकारमा सहभागी गराउने विकल्पमाथि छलफल भइरहेको स्रोतहरूको दाबी छ ।
सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपालाई दिने प्रस्ताव एमालेले अघि सारेको बताइएको छ ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्न कांग्रेस खुला रहेको बताएका छन् ।
यस्तै, नेकपाले पनि संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने निर्णय गरिसकेको जनाएको छ ।
नेकपाका प्रवक्ता प्रकाश ज्वालाले सरकारका गतिविधि संविधान र जनताको हितविपरीत गएको आरोप लगाएका छन् ।
एमाले नेताहरूका अनुसार अब त्रिपक्षीय छलफलमार्फत गठबन्धनको ठोस मोडल तय गर्ने तयारी भइरहेको छ ।






















