काठमाडौं– भारत, चीनसहित झन्डै १७ मुलुकमा राजदूत पद लामो समयदेखि रिक्त रहँदा सरकारले नियुक्ति प्रक्रिया कहिले अघि बढाउँछ भन्ने चासो बढेको छ ।
पूर्ववर्ती सरकारले नियुक्त गरेका राजदूतहरू फिर्ता बोलाइएपछि भारत, चीन, अमेरिका, जापान, अस्ट्रेलियालगायत महत्वपूर्ण मुलुकमा नेपालका राजदूत छैनन् ।
राजदूत रिक्त हुँदा द्विपक्षीय सम्बन्ध, वैदेशिक सहायता, श्रम गन्तव्य मुलुकमा नेपालीका समस्या समाधान तथा प्रधानमन्त्रीको परम्परागत विदेश भ्रमणसमेत प्रभावित भएको चर्चा छ ।
मलेसिया, कतार र साउदी अरबजस्ता श्रम गन्तव्य मुलुकमा पनि राजदूत नहुँदा नेपाली कामदारका मुद्दा सम्बोधनमा असर परेको बताइन्छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले भने दूतावास र महावाणिज्यदूतावासको संख्या, कर्मचारी व्यवस्थापन र खर्च कटौतीबारे अध्ययन भइरहेकाले त्यसको प्रतिवेदन आएपछि नियुक्ति प्रक्रिया अघि बढाइने बताएका छन् ।
उनका अनुसार साताभित्र अध्ययन प्रतिवेदन आउने र त्यसपछि आवश्यक मुलुकमा राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन माग गरिनेछ ।
सरकारले हालको व्यवस्था परिवर्तन गर्दै कम्तीमा ६० प्रतिशत राजदूत ‘करिअर डिप्लोम्याट’बाट र बाँकी ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने तयारी गरेको छ ।
इच्छुक उम्मेदवारले सम्बन्धित देशसँग नेपालको कूटनीतिक तथा आर्थिक सम्बन्ध विस्तार गर्ने योजना पेश गर्नुपर्ने प्रस्ताव पनि अघि सारिएको छ ।
यसअघि राजनीतिक भागबन्डाका आधारमा हुने नियुक्ति अन्त्य गर्दै पारदर्शी र प्रतिस्पर्धात्मक प्रणाली लागू गर्ने दाबी सरकारको छ ।






















