images
images
  • नेपालमा दर्ताबिनै मास्टरकार्ड र भिसा कारोबार, कानुनी दायरामा ल्याउन महालेखाको सुझाव

    काठमाडौं– नेपालमा विश्वप्रसिद्ध भुक्तानी सेवाप्रदायक मास्टरकार्ड र भिसाकार्डबिनै दर्ता सञ्चालन भइरहेको पाइएको छ।

    महालेखापरीक्षकको ६३औं वार्षिक प्रतिवेदनले यी अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालक प्रचलित कानुनबमोजिम नेपालमा दर्ता नभएको खुलासा गर्दै उनीहरूलाई कानुनी दायरामा ल्याउन सरकारलाई सुझाव दिएको छ।

    भुक्तानी तथा फर्स्योट ऐन, २०७५ को दफा ६(१) मा व्यवस्था भएअनुसार बैंक वा वित्तीय संस्थाबाहेक भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवाप्रदायकको रूपमा काम गर्न चाहने व्यक्ति वा संस्थाले अनिवार्य रूपमा नेपालमा कम्पनी स्थापना गरी दर्ता हुनुपर्दछ।

    तर, नेपालका बैंकहरूले प्रयोग गर्ने मास्टर कार्ड र भिसा कार्ड सेवा प्रदायक कम्पनीहरू नेपालमा कम्पनीको रूपमा दर्ता नभई भुक्तानी प्रणाली सञ्चालकका रूपमा कार्य गरिरहेको महालेखाको प्रतिवेदनले औंल्याएको छ।

    प्रतिवेदनका अनुसार प्रचलित कानुनी व्यवस्थाको पालना नगर्दा यी ठूला सेवाप्रदायकको नियमन र सुपरीवेक्षणमा जटिलता उत्पन्न हुन सक्ने देखिएको छ।

    नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न नीति अवलम्बन गरे पनि यस्ता विदेशी कम्पनी स्थानीय रूपमा दर्ता नहुँदा उनीहरूलाई नेपाली कानुनको पूर्ण उत्तरदायित्वभित्र ल्याउन चुनौती देखिएको छ।

    महालेखापरीक्षकको कार्यालयले सम्बन्धित कम्पनीलाई तत्काल प्रचलित कानुनको पालना गर्न लगाउन र उनीहरूलाई नियमनकारी दायराभित्र ल्याई पारदर्शी रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकार र राष्ट्र बैंकलाई सुझाव दिएको छ।

    यसो गर्दा नेपालको डिजिटल भुक्तानी प्रणाली थप सुरक्षित र कानुनी रूपमा व्यवस्थित हुने प्रतिवेदनको निष्कर्ष छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images