काठमाडौं– आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने पहिलो राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेको छ ।
विभिन्न दल र समूहसँगको एकतापछि हुन लागेको पहिलो महाधिवेशन भएकाले निर्वाचनभन्दा सहमतिमार्फत नेतृत्व चयन गरेर एकताको सन्देश दिने तयारी गरिएको महामन्त्री भूपदेव शाहले बताएका छन् ।
पार्टीभित्र सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री भूपदेव शाहलाई दोहोर्याउने समझदारी बनेको नेताहरूले बताएका छन् ।
रास्वपाले हालको विधान संशोधन गरी पदाधिकारी संख्या तथा केन्द्रीय समितिको आकारमा हेरफेर गर्न सक्ने संकेत पनि दिएको छ ।
विधान मस्यौदा कार्यदलले देशभरबाट सुझाव संकलन गरिरहेको सहमहामन्त्री विपिन आचार्यले जानकारी दिएका छन् ।
महाधिवेशन नजिकिँदै गर्दा रास्वपाले राजनीतिक प्रतिवेदन लेखन, कार्यविभाजन र व्यवस्थापकीय तयारीलाई तीव्र बनाएको जनाएको छ ।






















