images
images
  • राष्ट्रपतिसमक्ष डा. शर्माले लिए प्रधानन्यायाधीशको शपथ

    काठमाडौं-नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट शर्माले शपथ लिएका हुन्।

    शर्मा आजै संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अनुमोदित भएका हुन्।

    न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै हस्तक्षेप स्वीकार गर्दिनँ : प्रधानन्यायाधीश शर्मा
    sssss 4 1प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगरिने बताएका छन् । मंगलबार सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेलगत्तै सम्बोधनको क्रममा उनले यस्तो बताएका हुन् ।

    ‘न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार गरिने छैन,’ प्रधानन्यायाधीश शर्माले भने ।

    प्रधानन्यायाधीशको जिम्मेवारीलाई केवल पदको मात्रै नभइ संविधान, विधिको शासन, न्यायिक स्वतन्त्रता तथा नागरिकको न्यायप्रतिको विश्वासलाई अझै सुदृढ बनाउने दायित्वको रुपमा आफूले ग्रहण गरेको उनले बताएका छन् ।

    ‘न्यायपालिका नेपालको संविधानको संरक्षक, मौलिक अधिकारको प्रत्याभूतिकर्ता तथा लोकतान्त्रिक शासन व्यवस्थाको एक प्रमुख स्तम्भ हो,’ शर्माले भनेका छन्, ‘त्यसैले स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण नै मेरो कार्यकालको मूल ध्येय रहनेछ ।’

    न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता नै लोकतन्त्रको मेरुदण्ड भएको उनले बताएका छन् ।

    ‘मेरो पहिलो र सर्वोच्च प्राथमिकता भनेकै स्वतन्त्र न्यायपालिकालाई पूर्णरूपमा अक्षुण्ण राख्‍नु हो। यस मान्यतासँग कुनै पनि परिस्थितिमा सम्झौता गरिने छैन । न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार गरिने छैन,’ उनले थप भनेका छन्, ‘यस विषयमा कसैले कुनै शंका राख्‍नुपर्ने अवस्था आउने छैन साथै, त्यस्तो शंका उत्पन्न हुने कुनै पनि कार्य मबाट हुने छैन र हुन दिइने पनि छैन भन्ने पूर्णरुपमा विश्वास दिलाउन चाहन्छु ।’

    ३३औँ प्रधानन्यायाधीश डा.शर्मा को हुन् ?

    Manoj sharma 1संवैधानिक परिषदको सिफारिसपछि मंगलबार (जेठ ५) डा.शर्माको संसदीय सुनुवाइ भएको थियो । डा.शर्मा २०२७ असार ४ गते पर्साको वीरगन्जमा जन्मेका थिए ।उनी २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।शर्माले नेपाल ल क्याम्पसबाट बीएल र भारतको पुणे विश्वविद्यालयबाट एलएलएम गरेका छन् । साथै, त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुनमा विद्यावारिधि गरेका छन् ।

    कानुन व्यवसायीबाट न्यायको क्षेत्रमा प्रवेश गरेका डा.शर्माले २०७० साल जेठ २७ देखि २०७२ मंसिर २६ सम्म उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गरेका थिए ।नयाँ संविधान जारी हुँदा अतिरिक्त न्यायाधीशको व्यवस्था हटाइएपछि शर्मासहित २८ जना न्यायाधीश पदमुक्त भएका थिए ।त्यसपछि वकालतमै फर्किएका शर्मालाई तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको कार्यकालमा पुनः सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको थियो ।

    डा.शर्मा प्रधानन्यायाधीश पदमा २०८९ असार ४ गते सम्म ६ वर्ष बर्ष रहने छन् । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण सेवानिवृत्त भएपछि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले गत चैत १८ गतेदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

    न्याय परिषद्ले गत फागुन २६ गते प्रधानन्यायाधीश बन्न योग्यता पुगेका सर्वोच्च अदालतका ६ जना न्यायाधीशको सूची संवैधानिक परिषद्मा पठाएको थियो । प्रधानन्यायाधीशका लागि परिषद्ले वरिष्ठतम् न्यायाधीश मल्लसहित, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा.मनोजकुमार शर्मा, डा.नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो । उक्त नाम मध्येबाट संवैधानिक परिषदले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images