काठमाडौं– वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले नेपाल सरकारले १६ देशसँग श्रम सम्झौता प्रस्ताव पठाएको भए पनि हालसम्म कुनै पनि देशबाट औपचारिक प्रतिक्रिया नआएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भियतनाम, अष्ट्रेलिया, थाइल्यान्ड, टर्की, पोल्यान्ड, बेल्जियम, माल्टा, साइप्रस, लक्जेम्बर्ग लगायत युरोप, एसिया र अस्ट्रेलियाका देशहरूलाई परराष्ट्र मन्त्रालयमार्फत प्रस्ताव पठाइएको थियो। केही प्रस्ताव २०८१ चैतमा र केही २०८२ भदौमा पठाइएको हो ।
हाल नेपालसँग १३ देशसँग मात्र द्विपक्षीय श्रम सम्झौता छ, जबकि १७० भन्दा बढी देशमा नेपाली श्रमिक कार्यरत छन् ।
सम्झौता नभएका देशमा काम गर्ने श्रमिक बढी जोखिममा पर्ने, ठगी र श्रम शोषणको सम्भावना रहने मन्त्रालयको भनाइ छ ।
श्रम सम्झौताले श्रमिकको कानुनी सुरक्षा, तलब तथा अधिकार सुनिश्चित गर्न र समस्या पर्दा सरकारी समन्वयमार्फत समाधान गर्न सहयोग पुग्ने सरोकारवालाहरू बताउँछन् ।






















