काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेपछि विश्व राजनीति फेरि चीन–रूस धुरीतर्फ केन्द्रित भएको छ ।
युक्रेन युद्ध, ऊर्जा राजनीति, अमेरिका–चीन सम्बन्ध र मध्यपूर्वको तनावबीच भएको यो भेटलाई विश्व शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ ।
राष्ट्रपति पुटिन मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय वार्ताका लागि बेइजिङ पुगेका हुन् ।
क्रेमलिनका अनुसार दुवै नेताबीच रणनीतिक साझेदारी सुदृढ गर्ने, अन्तर्राष्ट्रिय मुद्दामा समन्वय बढाउने र बदलिँदो विश्व व्यवस्थाबारे साझा धारणा बनाउने विषयमा छलफल हुनेछ ।
ट्रम्पको हालैको चीन भ्रमणबाट ठोस उपलब्धि ननिस्किएको विश्लेषण भइरहेका बेला पुटिनको बेइजिङ आगमनले मस्को–बेइजिङ सम्बन्ध अझ मजबुत रहेको सन्देश दिएको मानिएको छ ।
सन् २०२२ यता युक्रेन युद्धपछि पश्चिमी प्रतिबन्धका कारण रुस चीनतर्फ अझ निर्भर बनेको छ ।
भ्रमणअघि नै दुवै नेताले रणनीतिक साझेदारीको ३० वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देश आदानप्रदान गर्दै सम्बन्ध अझ गहिरिँदै गएको संकेत दिएका थिए ।
पुटिनले चीनसँगको सम्बन्ध ‘अभूतपूर्व उचाइमा’ पुगेको बताउँदै विश्व शान्ति र साझा समृद्धिको पक्षमा सहकार्य भइरहेको दाबी गरेका छन् ।
यद्यपि उनको अभिव्यक्तिलाई अमेरिका लक्षित सन्देशका रूपमा पनि व्याख्या गरिएको छ ।
वार्तापछि संयुक्त घोषणापत्र आउने अपेक्षा छ ।
विश्लेषकहरूका अनुसार चीन–रूस सम्बन्ध अहिले स्थिर र रणनीतिक रूपमा बलियो बनेको छ ।
युक्रेन युद्ध, मध्यपूर्व तनाव र ऊर्जा राजनीतिबीच दुवै देशले साझाहितका आधारमा सहकार्य बढाइरहेका छन् ।
ऊर्जा सहकार्य यस भेटको प्रमुख एजेन्डा हुने अनुमान छ, किनभने रूसले पश्चिमी प्रतिबन्धबीच आफ्नो निर्यात बजार चीनतर्फ अझ विस्तार गर्न चाहेको छ ।


विश्व खबर 




















