काठमाडौं– नेपाल राष्ट्र बैंकले हिमालयन बैंक लिमिटेडलाई बैंकिङ नियमन उल्लंघन गरेको भन्दै कारबाही गरेको छ ।
केन्द्रीय बैंकले बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सञ्चालक समिति र सीईओ अशोक शमशेर जबरालाई सचेत गराउँदै सुधार गर्ने प्रतिबद्धतासहित कबुलियतनामा गराएको हो ।
निरीक्षणका क्रममा बैंकले केही ऋणीलाई तोकिएको प्रिमियम दरमा ब्याकडेटबाट छुट दिएको, बक्यौता ब्याज तथा साँवा मिलाउन प्रयोग गरेको, तथा कर्जा पुनरतालिकीकरणका क्रममा नियम विपरीत वर्गीकरण गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, भाखा नाघेका कर्जालाई सही रूपमा वर्गीकरण नगरेको र पर्याप्त कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) नगरेको पनि भेटिएको छ ।
९० दिनभन्दा बढी बक्यौता रहेका केही कर्जालाई समेत खराब कर्जाका रूपमा वर्गीकरण नगरेको आरोप छ ।
यी गतिविधि नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८१ विपरीत भएको भन्दै ऐनको व्यवस्था अनुसार कारबाही गरिएको हो ।






















