images
images
  • सहमतिमा हुने शारीरिक सम्बन्धको सजाय कम गर्ने तयारीमा सरकार

    काठमाडौं– सरकारले समान उमेर समूहका किशोर–किशोरीबीच सहमतिमा हुने शारीरिक सम्बन्धलाई लिएर कम सजायको कानुनी व्यवस्था गर्ने तयारी थालेको छ ।

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘रोमियो एण्ड जुलियट ल’ अवधारणाअनुसार उमेरको धेरै अन्तर नभएका किशोर–किशोरीबीचको सहमतिमूलक सम्बन्धलाई अपराधीकरणबाट जोगाउने गरी फौजदारी संहितामा संशोधनको तयारी गरेको हो ।

    कानुन सचिव पराश्वर ढुंगानाको नेतृत्वमा गठित अध्ययन कार्यदलले यस्तो कानुन आवश्यक भएको निष्कर्ष निकाल्दै उमेरको सामीप्यता, सहमति र किशोर अवस्थाको मानवीय विकासलाई ध्यान दिन सिफारिस गरेको छ ।

    प्रस्तावअनुसार तीन वर्षसम्म उमेर अन्तर भएका किशोर–किशोरीबीच सहमतिमा भएको सम्बन्धमा कम सजाय वा विशेष व्यवस्था लागू हुन सक्नेछ ।

    हालको कानुनअनुसार १८ वर्षमुनिका व्यक्तिसँग हुने कुनै पनि यौन सम्बन्ध सहमति भए पनि बलात्कार मानिन्छ भने विवाहको न्यूनतम उमेर २० वर्ष तोकिएको छ ।

    कार्यदलले भने यस्ता सम्बन्धलाई जबर्जस्ती करणी, शोषण वा उत्पीडनबाट अलग रूपमा हेर्नुपर्ने सुझाव दिएको छ ।

    सरकारले मुलुकी फौजदारी संहितामै संशोधन गरेर यो व्यवस्था लागू गर्ने तयारी गरेको जनाएको छ ।

    कानुनविद्हरूले भने यस्तो कानुन बनाउँदा बालबालिकाको सुरक्षा, बालविवाह र कानुन दुरुपयोगको जोखिमबारे गम्भीर अध्ययन र व्यापक बहस आवश्यक रहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images