काठमाडौं– स्मार्ट टेलिकम प्रालिको सम्पत्ति लिलामी प्रकरणमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको भूमिका शंकाको घेरामा परेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सम्पत्ति लिलामी प्रक्रियामा गैरकानुनी गतिविधि भएको आशंकामा एनसेलमाथि अनुसन्धान अघि बढाएको हो।
यसैक्रममा ३१ वैशाखमा सीआईबीले ललितपुरको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालयबाट आवश्यक कागजात माग गरेको थियो। ब्युरोका अनुसार स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियामा एनसेलको संलग्नता शंकास्पद देखिएपछि अनुसन्धान थालिएको हो।
दूरसञ्चार ऐन, २०५३ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति लिएर सञ्चालन भएको कुनै कम्पनीको अनुमतिपत्र अवधि समाप्त भएपछि त्यस कम्पनीको सम्पत्ति नेपाल सरकारको स्वामित्वमा जानुपर्ने व्यवस्था छ। तर, स्मार्ट टेलिकमको अनुमतिपत्र खारेज भइसकेपछि पनि त्यसको सम्पत्ति प्राधिकरणलाई जानकारी नै नदिई एनसेलको नियन्त्रणमा पुगेको दाबी सीआईबीको छ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार स्मार्ट टेलिकमको सम्पत्ति सरकारको स्वामित्वमा आउनुपर्ने भए पनि गैरकानुनी रूपमा निजी कम्पनीमा हस्तान्तरण गरिएको आशंका छ।
उनले भने, “दूरसञ्चार ऐनअनुसार स्मार्ट टेलिकमको सम्पत्ति नेपाल सरकारको हुनुपर्ने हो। तर, प्राधिकरणलाई जानकारी नै नदिई उक्त सम्पत्ति एनसेलमा पुगेको देखिन्छ।”
स्मार्ट टेलिकमको सम्पत्ति नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्नो ऋण असुलीका लागि लिलामी गरेको थियो। बैंकले ३ असोज २०८२ मा लिलामी सूचना प्रकाशित गरेको थियो भने एनसेलले २० असोजमा उक्त सम्पत्ति सकार गरेको थियो।
सीआईबीका अनुसार बैंक र एनसेलबीच ‘सेटिङ’ भएको आशंकामा अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा कागजात संकलन भइरहेको र यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको समेत पहिचान गरिने जनाएको छ।
अनुसन्धान अधिकारीहरूका अनुसार स्मार्ट टेलिकमको सम्पत्ति एनसेलसम्म पुर्याउन तत्कालीन राजनीतिक शक्ति केन्द्रको समेत भूमिका हुन सक्ने आशंका गरिएको छ। यस प्रकरणमा जोडिएका उच्चपदस्थ व्यक्तिहरू पनि अनुसन्धानको दायरामा आउन सक्ने सीआईबीको संकेत छ।
स्मार्ट टेलिकमले २ वैशाख २०७० मा नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति लिएर सेवा सञ्चालन सुरु गरेको थियो। दूरसञ्चार सेवाप्रदायक कम्पनीलाई अधिकतम २५ वर्षसम्म अनुमतिपत्र दिन सकिने व्यवस्था छ। सुरुमा १० वर्षका लागि अनुमति दिइन्छ र त्यसपछि पाँच–पाँच वर्षका लागि नवीकरण गर्न सकिन्छ।
तर, स्मार्ट टेलिकमले १० वर्ष पूरा भएपछि अनुमतिपत्र नवीकरण गरेन। त्यसपछि ३ वैशाख २०८० बाट कम्पनीको अनुमतिपत्र स्वतः खारेज भएको थियो।
सीआईबीका अनुसार अनुमतिपत्र खारेज भएपछि स्मार्ट टेलिकमले आफ्नो सम्पत्ति बिक्री वा हक हस्तान्तरणका लागि प्राधिकरणमा कुनै निवेदन दिएको थिएन। कानुनअनुसार यस्तो अवस्थामा प्राधिकरणको स्वीकृतिबिना सम्पत्ति हस्तान्तरण गर्न पाइँदैन।
दूरसञ्चार सेवाप्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ अनुसार अनुमतिपत्र नवीकरण नगरेको कम्पनी वा त्यसका लगानीकर्ताले लिलामी प्रक्रियामा सहभागी हुन पाउँदैनन्। त्यसैले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रिया नै कानुनविपरीत भएको दाबी सीआईबीको छ।
उता, एनसेलका कर्पोरेट कम्युनिकेसन अफिसर रमेश श्रेष्ठसँग सम्पर्क गर्न खोजिए पनि प्रतिक्रिया प्राप्त हुन सकेन।
### को–को छन् अनुसन्धानको घेरामा?
सीआईबीले स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई दिलाउन बैंकिङ तहमा ‘सेटिङ’ भएको आरोप लगाएको छ। यसै आरोपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई ३० वैशाखको राति सिन्धुलीबाट पक्राउ गरिएको थियो।
तर, उनलाई भोलिपल्ट सर्वोच्च अदालतको आदेशपछि रिहा गरिएको थियो। अदालतले धितो र ऋण असुली प्रक्रिया ‘बैंकिङ प्रक्रिया’ भएको उल्लेख गर्दै हिरासतबाट मुक्त गर्न आदेश दिएको थियो। प्रहरी भने उनलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघातको आरोपमा अनुसन्धान गरिरहेको छ।
यस प्रकरणमा स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशी, ट्रान्सटेक कम्पनीकी सञ्चालिका पलिना श्रेष्ठ र नरेन्द्र उलक पक्राउ परिसकेका छन्। उलकमाथि बैंकसँग मिलेमतो गरेर लिलामी प्रक्रिया प्रभावित पारेको आरोप छ।
पलिना श्रेष्ठसँग सम्बन्धित ट्रान्सटेक र प्रोफेसनल बिजनेस नेटवर्क कम्पनीले पनि लिलामी प्रक्रियामा भाग लिएका थिए। प्रोफेसनल बिजनेस नेटवर्कका सञ्चालक भने हाल फरार रहेको प्रहरीले जनाएको छ।
### ‘डमी कम्पनी’ खडा गरिएको आशंका
सीआईबीका अनुसार स्मार्ट टेलिकमको सम्पत्ति लिलामीमा तीन कम्पनी सहभागी भएका थिए। तीमध्ये सबैभन्दा बढी रकम कबोल गरेर एनसेलले सम्पत्ति आफ्नो नाममा ल्याएको थियो। करिब चार अर्ब ६० करोड रुपैयाँमा स्मार्टको सम्पत्ति एनसेलले प्राप्त गरेको देखिन्छ।
तर, अनुसन्धान अधिकारीहरूका अनुसार प्रतिस्पर्धाका नाममा दुई कम्पनीलाई ‘डमी’ का रूपमा प्रयोग गरिएको हुन सक्छ। ट्रान्सटेक कम्पनीले ४५ करोड रुपैयाँ र प्रोफेसनल बिजनेस नेटवर्कले ४२ करोड रुपैयाँ मात्र कबोल गरेका थिए, जबकि एनसेलको प्रस्तावित रकम त्यसको तुलनामा अस्वाभाविक रूपमा धेरै थियो।
सीआईबीको निष्कर्षअनुसार प्रतिस्पर्धा देखाउन मात्रै ती कम्पनीहरू सहभागी गराइएको हुनसक्ने आशंका छ।
उता, स्मार्ट टेलिकमले नवीकरण दस्तुर, फ्रिक्वेन्सी शुल्क तथा ग्रामीण दूरसञ्चार विकास कोषलगायत शीर्षकमा सरकारलाई करिब २७ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको देखिएको छ।
यसैले ठूलो सरकारी बक्यौता र नवीकरण विवादबाट जोगिन योजनाबद्ध रूपमा सम्पत्ति निजी कम्पनीलाई हस्तान्तरण गरिएको हो कि भन्ने कोणबाट पनि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
अनुसन्धान अधिकारीहरूका अनुसार लिलामी मूल्य निर्धारण, सहभागी कम्पनीहरूको वास्तविक क्षमता, धरौटी प्रक्रिया तथा अन्तिम स्वीकृतिसम्मका सम्पूर्ण निर्णय प्रक्रियामाथि विस्तृत छानबिन आवश्यक देखिएको छ।






















