काठमाडौं– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ ।
पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी फुटको संघारमा पुगेको दाबी गरेपछि संस्थापन र संस्थापनइतर समूहबीचको टकराव झन् तीव्र बनेको हो ।
सुर्खेतमा आयोजित कार्यक्रममा खड्काले पार्टी जोगाउने वा फुटाउने जिम्मा ‘दुई नेताको हातमा’ रहेको बताएका थिए ।
उनले सभापति गगन थापालाई सिंगो कांग्रेसको नेता बन्नुपर्ने टिप्पणीसमेत गरे ।
खड्का निकटका केही नेताहरूले नयाँ पार्टी गठनको बहस अघि बढाए पनि नेता विमलेन्द्र निधिले भने ‘सम्पर्क कार्यालय’ खोलेर समूहगत गतिविधि व्यवस्थित गर्न खोजिएको बताएका छन् ।
विशेष महाधिवेशनपछि कांग्रेस कमजोर बनेको आरोप खड्का समूहले दोहोर्याइरहेको छ ।
प्रतिनिधिसभामा कांग्रेस ३८ सिटमा सीमित हुनुको कारण पनि उनीहरूले त्यही महाधिवेशनलाई मानेका छन् ।
टिकट पाएर चुनाव हारेका धेरै नेताहरू अहिले नेतृत्वविरुद्ध उभिएका छन् ।
सभापति गगन थापाकै हस्ताक्षरमा टिकट लिएर चुनाव लडेका नेताहरू अहिले समानान्तर गतिविधिमा सक्रिय भएपछि पार्टीले कारबाहीको चेतावनीसमेत दिएको छ ।
महामन्त्री गुरुराज घिमिरेले भने टिकट लिएर चुनाव लड्ने, हार्ने अनि पछि नेतृत्व अस्वीकार गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन् ।
उनका अनुसार कांग्रेस अब व्यक्तिकेन्द्रित नभई विधि र विधानअनुसार अघि बढिरहेको छ ।
खड्का नेतृत्वको अभियानमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइरालालगायत नेताहरूको साथ देखिएको छ ।
यद्यपि शेखर कोइराला समूह अझै स्पष्ट रूपमा कित्ताकाटमा उत्रिएको छैन ।
यसैबीच कांग्रेसले २०८३ असोजमा १५औं महाधिवेशन गर्ने तयारी अघि बढाएको छ ।
तर संस्थापनइतर समूहले वर्तमान केन्द्रीय समिति भंग गर्नेदेखि क्रियाशील सदस्यता प्रक्रिया रोक्नेसम्मका माग राख्दै आएको छ ।
सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई वैधानिकता दिए पनि पार्टीभित्रको विवाद भने अझै अन्त्य भएको छैन ।






















