काठमाडौं– कृष्णकुमार कार्कीविरुद्ध एक विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लागेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ–२ बाट निर्वाचित सांसद कार्कीमाथि नाइजेरियन नागरिक २६ वर्षीया रिता अजुकोले गम्भीर आरोप लगाएकी हुन् ।
ठमेल क्षेत्रमा बसोबास गर्दै आएकी अजुकोका अनुसार उनी र कार्की लामो समयदेखि लिभिङ रिलेसनशिपमा थिए ।
गर्भवती भएको जानकारी पाएपछि भने कार्की सम्पर्कविहीन बनेको उनले बताएकी छन् ।
आर्थिक रूपमा कठिन अवस्थामा पुगेकी उनले अहिले आफूलाई खानसमेत समस्या भएको गुनासो गरेकी छन् ।
अजुकोले सुरुमा गर्भपतन गर्ने सोच बनाएकी थिइन् ।
तर, कार्कीले विभिन्न भावनात्मक दबाब सिर्जना गर्दै बच्चा नराख्न नहुने भन्दै आफूलाई रोकिएको उनको दाबी छ ।
कार्कीले ‘माई वाइफ’, ‘माई लाइफ’, ‘माई लभ’ लगायतका सन्देश पठाएको, आफू बुवा बन्न लागेकोमा खुशी व्यक्त गरेको तथा सँगै बिताएका विभिन्न भिडियो र तस्वीरहरू समेत सार्वजनिक भएका छन् ।
अस्पतालको विवरणमा समेत पतिको नाममा कृष्ण कार्की उल्लेख गरिएको बताइएको छ ।
तर, गर्भ बढ्दै गएपछि कार्की टाढिन थालेको र फोन तथा म्यासेजको जवाफ दिन छोडेको अजुकोको आरोप छ ।
डेलिभरीको समय नजिकिँदै जाँदा आफू र बच्चाको भविष्यलाई लिएर तनावमा रहेको उनले बताएकी छन् ।
क्षेत्रपाटीस्थित फ्रि क्लिनिकमा उपचार गराइरहेकी अजुकोले बच्चाको पालनपोषणको जिम्मेवारी कार्कीले लिनुपर्ने माग गरेकी छन् ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा सांसद कार्कीले आफू बैठकमा रहेको भन्दै विस्तृत प्रतिक्रिया दिन चाहेनन् ।
उनले छोटो प्रतिक्रिया दिँदै भने, “म मिटिङमा छु, अहिले कुरा गर्न मिल्दैन ।”
सांसद कार्की यसअघि पनि विवादमा तानिएका व्यक्ति हुन् ।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा सिंहदरबार अगाडि गरिएको प्रदर्शनमा उनको संलग्नता चर्चामा आएको थियो ।
सामाजिक सञ्जालमा भाइरल भएका तस्वीर तथा भिडियोमा उनी सुरक्षाकर्मीको हतियार खोस्ने प्रयास गर्दै अर्धनग्न अवस्थामा प्रदर्शनमा देखिएका थिए ।
उनीमाथि यसअघि गुण्डा नाइके दिनेश अधिकारी समूहसँग सम्बन्ध रहेको आरोपसमेत लाग्दै आएको थियो ।
लामो समय जापान बसेर नेपाल फर्किएका कार्की फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट निर्वाचित भएका थिए ।
नयाँ राजनीतिक शक्ति भन्दै उदाएको रास्वपाका सांसदमाथि यस्ता आरोप सार्वजनिक भएपछि पार्टीमाथि नैतिक प्रश्न उठ्न थालेको छ ।






















