images
images
  • युक्रेन जान नेपालीलाई पूर्ण रोक, युद्धबन्दी फर्काउन कूटनीतिक पहल तीव्र

    काठमाडौं– नेपाल सरकारले आफ्ना नागरिकलाई युक्रेन जान पूर्णरूपमा रोक लगाएको छ ।

    साथै, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फर्किन आग्रह गरिएको छ ।

    रूसी सेनामा भर्ती भएर युद्ध लड्ने क्रममा युक्रेनी नियन्त्रणमा पुगेका नेपालीको उद्धारका लागि सरकारले कूटनीतिक पहल तीव्र पारेको छ ।

    परराष्ट्रमन्त्री शिशिर खनाल ले युक्रेनका विदेशमन्त्री एण्ड्री सिबीहा सँग टेलिफोन संवाद गर्दै नेपालीलाई मानवीय आधारमा रिहा गर्न आग्रह गरेका छन् ।

    त्यसपछि जर्मनीस्थित नेपाली दूतावासमार्फत युक्रेन सरकारलाई औपचारिक कूटनीतिक पत्र पठाइएको छ ।

    सरकारका अनुसार युक्रेनी नियन्त्रणमा कम्तीमा नौ जना नेपाली छन् भने अभियन्ताहरूले यो संख्या ११ पुग्न सक्ने बताएका छन् ।

    युद्ध सुरु भएयता केही नेपालीको उद्धार भइसकेको छ भने बाँकीलाई फर्काउने प्रयास जारी छ ।

    रुसी सेनामा नेपाली भर्ती हुने क्रम रोक्न नेपालले यसअघि नै श्रम स्वीकृति बन्द गरिसकेको थियो ।

    तर, विभिन्न एजेण्टमार्फत ठूलो रकम तिरेर सयौं नेपाली रुस पुगेको अनुमान छ ।

    युद्धमा करिब दुई सय नेपालीको मृत्यु भएको र डेढ सयभन्दा बढी अझै बेपत्ता रहेको बताइएको छ ।

    सरकारले अहिले रुस र युक्रेन दुवैसँग निरन्तर संवाद गर्दै युद्धबन्दी र अलपत्र नेपालीको सुरक्षित उद्धारलाई प्राथमिकता दिएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images