काठमाडौं– कैद कट्टासम्बन्धी नियमावली संशोधन नहुँदा ६५ वर्षभन्दा माथिका पाँच सयभन्दा धेरै ज्येष्ठ नागरिक अझै कारागारमै छन् ।
कानुनअनुसार सुविधा पाएको भए सुन्धारा महिला बन्दीगृहमा रहेकी ७६ वर्षीया नोखी खत्री र ९३ वर्षीय भारतीय नागरिक विजयकुमार कपुर जेलमुक्त भइसक्ने थिए ।
ज्येष्ठ नागरिक ऐन, २०६३ अनुसार ६५ वर्ष पुगेकाले २५ प्रतिशत, ७० वर्ष पुगेकाले ५० प्रतिशत र ७५ वर्ष पुगेकाले ७५ प्रतिशत कैद सजाय कट्टा सुविधा पाउने व्यवस्था छ ।
तर, कार्यान्वयन गर्ने निकाय स्पष्ट नहुँदा सुविधा रोकिएको हो ।
कारागार व्यवस्थापन विभागका अनुसार मुलुकभर ६५ वर्षभन्दा माथिका पाँच सयभन्दा धेरै कैदी छन् ।
केन्द्रीय कारागारमा मात्रै ११९ जना यस्तो सुविधाका लागि योग्य छन् ।
विभागले फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ संशोधनको मस्यौदा गृह मन्त्रालय पठाइसकेको जनाएको छ ।
यस्तै, चालचलन सुधार भएका कैदी पनि कैद कट्टा सुविधाबाट वञ्चित भएका छन् ।
सर्वोच्च अदालतले ‘रिगल’ प्रकरणपछि पीडित पक्षको सहमति अनिवार्य हुनुपर्ने आदेश दिएपछि कैद कट्टा प्रक्रिया झन् जटिल बनेको थियो । पछि सर्वोच्चले उक्त व्यवस्था हटाउन आदेश दिए पनि नियमावली अझै संशोधन हुन सकेको छैन ।
हाल मुलुकभरका ७५ कारागार र १० बाल सुधारगृहको क्षमता १८ हजार २३५ भए पनि अहिले २६ हजार ६९५ कैदीबन्दी छन् ।
क्षमताभन्दा ४६ प्रतिशत बढी चाप हुँदा कारागार व्यवस्थापन झन् चुनौतीपूर्ण बनेको छ ।






















