images
images
  • २५ वर्ष पुरानो संघई परिवारको ‘चिया काण्ड’ फेरि तात्यो : पूर्वप्रमद्वारा पोषित समूहको सेटिङ भत्काउँदै बालेन सरकार

    काठमाडौं– करिब साढे दुई दशकदेखि पुराना राजनीतिक दलका नेताहरू केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको संरक्षणको आडमा फाइलमै दबाइएको चिया विकास निगमको ‘करोडौँ बक्यौता’ प्रकरण अन्ततः विस्फोटक मोडमा पुगेको छ । निजीकरणका नाममा सरकारी सम्पत्ति सुम्पिएपछि हराएको रकम असुल्न अहिले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार आक्रामक रूपमा अघि बढेको छ ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रत्यक्ष निर्देशनपछि अर्थ मन्त्रालयले त्रिवेणी समूह (संघई परिवार) विरुद्ध बक्यौता असुली प्रक्रिया तीव्र बनाएको हो । मन्त्रालयका उपसचिव मुक्तिनाथ सुवेदीले ग्यालेक्सीखबरसँग कुरा गर्दै भने, ‘बक्यौता तिर्न ताकेता भइसकेको छ, र निगमको नाममा रहेको जग्गा फिर्ता ल्याउन नापी विभागमार्फत प्रक्रिया अघि बढाइएको छ ।’

    २०५७ सालमा चिया विकास निगमको ६५ प्रतिशत शेयर २६ करोड ७१ लाख रुपैयाँमा संघई परिवारलाई सुम्पिएसँगै झापा र इलामका ५ हजारभन्दा बढी एकड (८ हजारभन्दा बढी बिघा) सरकारी जग्गा ५० वर्षका लागि लिजमा दिइयो ।

    सम्झौताअनुसार वार्षिक २ करोड ८० लाख रुपैयाँ लिज–भाडा तिर्नुपर्ने थियो । तर सुरुदेखि नै जग्गा अपुग भन्ने बहानामा भाडा घटाइयो, तिर्ने म्याद सारियो, ब्याज मिनाहा गरियो । तर भुक्तानी भने भएन । पाँच वर्षको १० करोड ७३ लाख रुपैयाँ नाफा भएपछि १० वर्षभित्र तिर्ने भनियो, तर त्यो समयसीमा सकिएको अर्को दशक बित्न लाग्दा पनि रकम अझै उठेको छैन । उल्टै वार्षिक भाडा घटाएर ४० लाखमा झारियो, जसले अर्बौँ मूल्यको सरकारी सम्पत्तिको उपयोग निजी समूहले गरिरहँदा राज्य भने खाली हात बसेको देखिन्छ ।

    खोजीका क्रममा भेटिएका कागजातहरूले सम्झौताका धेरै प्रावधान नै संघई पक्ष अनुकूल बनाइएको देखाउँछन्। भाडा वृद्धि नाफामा निर्भर हुने, सम्पत्ति मूल्यांकन फरक–फरक देखाएर खरिद मूल्य घटाउने, बाँकी शेयर रकमसमेत फरफारक गर्ने जस्ता प्रावधानले राज्यलाई निरन्तर घाटामा धकेल्यो । अझ गम्भीर कुरा सम्झौताको समापन मिति नै प्रभावकारी रूपमा लागू नगरी सरकारले पैसा नलिईकनै निगम र चिया बगानको नियन्त्रण नयाँ व्यवस्थापनलाई सुम्पियो। त्यसपछि भाडा नतिर्ने, म्याद लम्ब्याउने र जग्गा अपुगको बहाना बनाउने खेल निरन्तर चलिरह्यो । जानकारहरूले सरकारी सम्पत्ति निजी समूहलाई रजाइँ गर्न दिइएको प्रपञ्चका रूपमा व्याख्या गरेका छन् ।

    यसबीचमा समस्या समाधानका नाममा २०५८ देखि २०६४ सम्म दर्जनौँ समिति र उपसमिति बने, प्रतिवेदन आए, सुझाव दिइए, तर कार्यान्वयन भने भएन । सोही अवधिमा सरकारले बाँकी शेयरसमेत एकमुष्ट बेच्ने प्रयास गरेको देखिन्छ । पूरक सम्झौतामार्फत लिज–भाडा घटाइयो, ब्याज मिनाहा गरियो, र यहाँसम्म कि निगमलाई सरकारी जग्गा सब–लिजमा दिने बाटोसमेत खोलियो । यसले राज्यको नियन्त्रण झन् कमजोर बनाउँदै निजी समूहको पकड बलियो बनाएको देखिन्छ ।

    यस्तो छ संघई परिवारको षडयन्त्रको नालीबेली

    २०५७ असार १४ मा अर्थ मन्त्रालय र त्रिवेणी समूहका सञ्चालक पुरुषोत्तमलाल संघईबीच चिया विकास निगमको निजीकरणसम्बन्धी सम्झौता भएको थियो । त्यसअघि पूर्ण सरकारी स्वामित्वमा रहेको निगमलाई निजीकरण गर्ने निर्णयपछि संघईलाई ६५ प्रतिशत शेयर बिक्री गर्ने सहमति गरिएको थियो । संघईले २६ करोड ७१ लाख ५ हजार रुपैयाँमा ६५ प्रतिशत शेयर खरिद गर्ने सम्झौता गरेसँगै निगममा त्रिवेणी समूहको नियन्त्रण स्थापित भयो । त्यही सम्झौतासँगै सरकारले झापा र इलामका टोकला (८३१.२१ एकड), चिलिङकोट (१ हजार एकड), कन्याम (५३४.७१ एकड), इलाम (१३४.७६ एकड), सोक्तिम (२४० एकड), बर्ने (२०५४ एकड) र बारादशी (४०१.६६ एकड) गरी कुल ५ हजार १९६ दशमलव ३४ एकड (करिब ८ हजार ३८१ बिघा) जग्गा ५० वर्षका लागि निगमलाई लिजमा दिने निर्णय गर्‍यो । सम्झौताअनुसार निगमले वार्षिक २ करोड ८० लाख १ हजार रुपैयाँ भाडा तिर्नुपर्ने थियो, जुन छैटौँ वर्षदेखि हरेक पाँच वर्षमा ५ लाख १ हजार रुपैयाँका दरले बढ्ने व्यवस्था थियो । तर भाडा वृद्धि ‘इन्टरनेशनल अकाउन्टिङ स्ट्यान्डर्ड’ अनुसार निगमको वित्तीय अवस्था, उत्पादन र बिक्री मूल्यमा आधारित हुने प्रावधान राखियो, जसले पछि संघई पक्षलाई अनुकूल हुने बाटो खोल्यो ।

    सम्झौता २०५७ कात्तिक ४ बाट लागू हुने भनिए पनि जग्गा अपुग भएको भन्दै सरकारले २०५७ देखि २०६२ जेठ २६ सम्मको भाडा घटाएर वार्षिक २ करोड १४ लाख ६८ हजार ३६६ रुपैयाँ कायम गर्‍यो । जसअनुसार पाँच वर्षको १० करोड ७३ लाख ४१ हजार ८३० रुपैयाँ तिर्नुपर्ने भयो । तर त्यो रकम पनि तत्काल तिर्नु नपर्ने, निगमले नाफा कमाएर १० वर्षभित्र (२०७२ कात्तिक ३ भित्र) भुक्तानी गर्ने गरी २०६४ फागुन १२ मा पूरक सम्झौता गरियो । त्यो समयसीमा सकिएको अर्को दशक बित्न लाग्दा पनि उक्त रकम अहिलेसम्म तिरिएको छैन । अर्थ मन्त्रालयले विभिन्न मितिमा पत्राचार गरे पनि निगमले रकम दाखिला नगरेको मन्त्रालयकै विवरणले देखाउँछ ।

    २०५४ साउन १७ मा निजीकरण समितिले १३ सार्वजनिक संस्थानमध्ये चिया विकास निगमलाई पहिलो प्राथमिकतामा राख्दै प्रक्रिया अघि बढाएको थियो । २०५४ चैत ११ सम्म ३३ वटा प्रस्ताव परे, जसमा भारतको चेरेन ग्रुपका के.सी. पलानास्वामी पहिलो, पुरुषोत्तमलाल संघई दोस्रो र शमशेर एन्ड गंगादेवी चिया बगान तेस्रो नम्बरमा राखिएका थिए । पलानास्वामीले ६५ प्रतिशत शेयरका लागि २४ करोड ३४ लाख र पाँच वर्षको लिजका लागि १० करोड १३ लाख प्रस्ताव गरेका थिए, तर समयमै सम्झौता नगरेपछि उनको डेढ करोड धरौटी जफत गरियो । त्यसपछि संघईसँग वार्ता भयो, जसले सुरुमा २१ करोड २१ लाख र ६ करोड २२ लाख लिज प्रस्ताव गरेका थिए । पछि पुनः प्रस्ताव माग गरी २०५६ भदौ ३२ मा संघईलाई शेयर बिक्री गर्ने निर्णय गरियो ।

    सम्झौता प्रक्रियामा अर्को विवाद लिज भाडा कसले तिर्ने ? भन्ने उत्पन्न भयो । मन्त्रिपरिषद्ले २०५६ असोज २६ मा संघईले व्यक्तिगत रूपमा भाडा तिर्नुपर्ने निर्णय गरे पनि उनले अस्वीकार गर्दै कम्पनीमार्फत ग्यारेन्टी दिने प्रस्ताव गरे । त्यसपछि निजीकरण समिति आफ्नै निर्णयबाट पछि हट्दै कम्पनीको जमानी स्वीकार्ने सिफारिसमा पुग्यो । २०५७ असार १४ मा अन्ततः सम्झौता भयो, तर समापन मिति लचिलो बनाइयो । यसले संघई परिवारलाई भुक्तानी टार्ने बाटो खुल्यो । बाँकी २५ करोड ३७ लाख ४९ हजार रुपैयाँ सम्झौता कार्यान्वयन मितिमा तिर्नुपर्ने भए पनि सम्पत्ति मूल्यांकन फरक देखाएर दफा ६.२ अनुसार रकम समायोजन गर्ने प्रावधान राखियो । यसको फाइदा संघईले उठाए ।

    सबैभन्दा गम्भीर कमजोरी सरकारले पूर्ण भुक्तानी नलिईकनै २०५७ असार ३० देखि कात्तिक ४ सम्म निगम र चिया बगानको स्वामित्व नयाँ व्यवस्थापनलाई सुम्पियो । त्यसपछि संघई पक्षले जग्गा अपुग भएको भन्दै भाडा नतिर्ने अडान लियो । विभिन्न समिति र उपसमितिहरू गठन भए । टेकबहादुर चोख्याल नेतृत्वको समिति, याङकिला शेर्पा संयोजक उपसमिति, टंक खनालको प्राविधिक समिति जसले १ हजार २१२ दशमलव ६१ एकड जग्गा अपुग रहेको निष्कर्ष निकाल्दै भाडा समायोजन र समापन मिति २०५७ कात्तिक ४ कायम गर्न सुझाव दिए । तर कार्यान्वयन भएन । २०६२ जेठ २६ मा सरकारले अपुग जग्गाको आधारमा भाडा घटाएर २ करोड १४ लाख ६८ हजार ३६६ कायम गर्‍यो, तर त्यो पनि तिरिएन ।

    २०६४ फागुन १२ को पूरक सम्झौताले अवस्था झन् जटिल बनायो । दुई फरक मूल्यांकनका आधारमा सम्पत्ति कम देखाई संघईले तिर्नुपर्ने बाँकी रकम ६ करोड ६६ लाख ७५ हजारमै सीमित गरियो र त्यसलाई पनि समायोजन गरेर फरफारक गरियो। त्यही सम्झौताले वार्षिक भाडा घटाएर ४० लाखमा झार्यो । २०५७–२०६२ को ब्याज ९ करोड ८३ लाख ९६ हजार ६७८ रुपैयाँ मिनाहा गर्यो र निगमलाई सब–लिजमा जग्गा दिन सक्ने अधिकारसमेत दियो ।

    सरकारले जग्गा अतिक्रमण हटाउन नसकेको कारण देखाउँदै निगमले भाडा नतिर्ने अडान निरन्तर राख्दै आएको छ । निगमले २०७८ चैत १ मा अर्थ मन्त्रालयलाई लेखेको पत्रमा ५ हजार १९६ एकडमध्ये करिब ३ हजार २४३ एकड मात्र उपलब्ध भएको दाबी गरिएको छ । संघई परिवारले भने सम्झौताअनुसार जग्गा नपाएको भन्दै भाडा नतिरेको बताउँदै आएका छन् । तर अर्थ मन्त्रालयको २०८० को समीक्षा अनुसार निगम २०७८/७९ मा ९ करोड ९० लाख ९७ हजार नाफामा गएको छ, सञ्चित नाफा २८ करोड २७ लाख ५३ हजार पुगेको छ र खुद सम्पत्ति ४८ करोड २७ लाख ५३ हजार छ । नाफामा हुँदासमेत लिज–भाडा नतिर्नु थप विवादको विषय बनेको छ ।

    अर्थ मन्त्रालयकै तथ्यांकअनुसार चिया विकास निगम पछिल्ला वर्षहरूमा नाफामा गइसकेको छ, सञ्चित नाफा दर्जनौँ करोड पुगेको छ, तर सरकारलाई तिर्नुपर्ने लिज–भाडा अझै उठेको छैन । मन्त्रालयले पटक–पटक ताकेता गर्दा पनि रकम दाखिला नभएको स्वीकार गरेको छ । यस्तो अवस्थामा अहिलेको असुली प्रक्रिया बालेन नेतृत्वको सरकारका लागि ‘टेस्ट केस’ बनेको छ । यदि सरकारले बक्यौता उठाउन र जग्गा फिर्ता ल्याउन सकेन भने यो प्रकरण नेपालमा निजीकरणको नाममा भएको सबैभन्दा ठूलो नीतिगत लुटको उदाहरण बन्नेछ । तर यदि असुली सफल भयो भने दशकौँ पुराना सेटिङ र प्रभावशाली व्यापारिक घरानाविरुद्ध राज्यले कडा कदम चाल्न सक्छ भन्ने सन्देश जानेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images