images
images
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ८१ करोडको शेयर घोटाला ?

    काठमाडौं–सगरमाथा लुम्बिनी इन्स्योरेन्स मा करिब १ अर्ब ८१ करोड रुपैयाँ बराबरको संस्थागत भ्रष्टाचार भएको आरोपसहित सनसनीपूर्ण खुलासा भएको छ।

    साविकको सगरमाथा इन्स्योरेन्समा नियमविपरीत करिब ३० लाख कित्ता संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गरिएको दाबी गरिएको छ। यस प्रकरणमा नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेप्से र सिडिएससीको भूमिकामाथि समेत गम्भीर प्रश्न उठेको छ।कम्पनीको साधारण सभा र नियामक निकायले दिएको सीमित स्वीकृतिलाई मिच्दै सञ्चालक समिति र व्यवस्थापनले सेटिङमार्फत अतिरिक्त शेयर साधारणमा परिणत गराएका थिए।

    यसरी परिणत गरिएको शेयर बजारमा बिक्री गर्दा संस्थापक समूहले करिब १ अर्ब ८१ करोड रुपैयाँ बराबरको लाभ लिएको दाबी गरिएको छ। घटनाबारे राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परिसकेको जनाइएको छ भने विदेशी लगानीकर्तालाई समेत जानकारी नदिई प्रक्रिया अघि बढाइएको आरोप छ। यो प्रकरणले नेपालको बीमा र पूँजी बजारमा नियामक निकायको पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

    विदेशी लगानीकर्तालाई समेत गुमराहमा राखियो

    समाचार स्रोतका अनुसार, यो प्रक्रियामा कम्पनीमा २० प्रतिशत लगानी रहेको विदेशी संस्थापक लगानीकर्तालाई समेत कुनै औपचारिक जानकारी दिइएको छैन। नेपाली संस्थापकहरुले आफ्नो स्वार्थ सिद्ध गर्न विदेशी साझेदार र साधारण शेयरधनीहरुको अधिकारमाथि डकैती गरेको बुझिएको छ।

    यो तथ्य बाहिर आएपछि कम्पनीका एक शेयरधनीले आफ्नो ज्यानको सुरक्षाको खतरा रहेको औंल्याउँदै राष्ट्रिय सतर्कता केन्द्रमा निवेदन दिएका छन्। निवेदनमा भनिएको छ, मर्ज हुनुअघिको सञ्चालक समिति, व्यवस्थापन समूह र सतही रुपमा स्वीकृति दिने प्राधिकरणका पदाधिकारीहरुलाई तत्काल छानबिनको दायरामा ल्याइयोस्।

    बीमा क्षेत्रमा भएको यो सम्भवतः अहिलेसम्मकै ठूलो इन्साइडर र डकुमेन्टेड घोटाला हो। ३० लाख कित्ता संस्थापक शेयरलाई जादुमयी ढङ्गले साधारण बनाउँदा अर्बौंको चलखेल हुनुले नेपालको पूँजी बजार कति असुरक्षित छ भन्ने देखाउँछ। ग्यालेक्सीखबर डटकमले यस प्रकरणका हरेक कागजात र संलग्न व्यक्तिहरुको थप खोजी गरिरहेको छ।

    के हो मुख्य घोटाला ?

    घोटालाको चुरो शेयर संरचनाको परिवर्तन मा लुकेको छ। साविकको सगरमाथा इन्स्योरेन्समा नेपाली संस्थापकको ५१ प्रतिशत, विदेशी लगानीकर्ताको २० प्रतिशत र सर्वसाधारणको २९ प्रतिशत शेयर स्वामित्व थियो। कम्पनीको साधारण सभा र बीमा प्राधिकरणले नेपाली संस्थापकको ५१ प्रतिशत शेयरमध्येबाट मात्र समानुपातिक रुपमा २० प्रतिशतसम्म शेयरलाई साधारण शेयरमा परिणत गर्ने अनुमति दिएको थियो।

    नियम अनुसार ५१ प्रतिशतको २० प्रतिशत अर्थात् कुल हिस्साको करिब १०.२ प्रतिशत मात्र परिणत हुनुपर्ने थियो। तर, सञ्चालक समिति र व्यवस्थापनले प्राधिकरणका कर्मचारी र पदाधिकारीसँगको मिलेमतोमा कुल पुँजीको १०० प्रतिशतलाई आधार मानी २० प्रतिशत ३० लाख कित्ताभन्दा बढी संस्थापक शेयरलाई साधारणमा परिणत गरिदिए।
    यसरी नियमविपरित थपिएको ठूलो परिमाणको साधारण शेयरलाई बजारमा बिक्री गर्दा संस्थापकहरुले हालको बजार मूल्य अनुसार करिब १ अर्ब ८१ करोड रुपैयाँ अवैध रुपमा आर्जन गरेको दाबी गरिएको छ।

    यस प्रकरणमा सबैभन्दा गम्भीर प्रश्न नेपाल बीमा प्राधिकरण (तत्कालीन अध्यक्ष र पदाधिकारी) माथि उठेको छ। आफ्नै पूर्व निर्णय र स्विकृतिको सीमाभन्दा बाहिर गएर भएको यो शेयर खेललाई प्राधिकरणले कसरी अन्तिम स्वीकृति दियो ? साथै, धितोपत्र बोर्ड र नेप्से जस्ता निकायले पनि शेयरको संरचना परिवर्तन हुँदा र ठूलो परिमाणमा शेयर सूचीकृत हुँदा कागजातको मसिनो अध्ययन नगरी आँखा चिम्लिनुले संस्थागत सेटिङको आशंकालाई पुष्टि गर्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images