images
images
  • सद्‍भावले जोगिएको यूटीएलको अनुमति स्वतः खारेज, कसैले उद्धार गर्ला ?

    काठमाडौं– अनुमति पाएदेखि नै प्रभावकारी सेवा सञ्चालन गर्न नसकेको युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) अब भने अनुमति खारेजीको अन्तिम चरणमा पुगेको छ । २०८३ सालको भदौसम्म आवश्यक बक्यौता र नवीकरण शुल्क नतिरे कम्पनीको अनुमति स्वतः रद्द हुने अवस्था बनेको छ ।

    पछिल्लो करिब एक दशकदेखि सेवा बन्दजस्तै अवस्थामा रहे पनि यूटीएलले नियामक निकायको सहानुभूति र कानुनी प्रक्रियाको आडमा आफ्नो अनुमति जोगाउँदै आएको थियो । तर अब भने कम्पनीलाई थप जोगाउने सम्भावना कमजोर बन्दै गएको दूरसञ्चार क्षेत्रका अधिकारीहरू बताउँछन् ।

    भारतीय लगानीमा स्थापना भएको यूटीएलमा नेपाली व्यवसायी उपेन्द्र महतोको अप्रत्यक्ष संलग्नता रहेको चर्चा हुँदै आएको छ । कम्पनी लामो समयदेखि निष्क्रिय भए पनि उसले अर्बौं रुपैयाँ बराबरका सरकारी ठेक्का भने पाएको थियो । तर ती आयोजना कार्यान्वयन गर्न नसकेपछि सरकारले सम्झौता नै तोडेको थियो ।

    त्यसपछि नेपाल दूरसञ्चार प्राधिकरणले २०७६ सालमै अनुमति खारेजी प्रक्रिया अघि बढाउने निर्णय गर्दै स्पष्टीकरण सोधेको थियो । त्यसविरुद्ध यूटीएल अदालत पुगेको थियो र अन्तरिम आदेशमार्फत अनुमति जोगाएको थियो । तर उक्त आदेश २०८० सालको माघमा खारेज भएपछि प्राधिकरणले २०८१ जेठ २५ गते सात अर्ब रुपैयाँभन्दा बढी बक्यौता तिर्न १५ दिने सूचना जारी गरेको थियो ।

    तर दुई वर्ष बित्न लाग्दा पनि यूटीएलले न बक्यौता तिरेको छ, न त कम्पनी व्यवस्थापन सम्पर्कमै आएको छ । प्राधिकरण स्रोतका अनुसार कम्पनीको आधिकारिक ठेगानासमेत स्पष्ट छैन भने बक्यौता रकम अहिले ८ अर्ब रुपैयाँ नाघिसकेको छ ।

    प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार यूटीएलको अनुमति अवधि अझै भदौसम्म बाँकी रहेकाले त्यसअघि कुनै समाधान नभए कानुनअनुसार स्वतः खारेजी प्रक्रिया अघि बढ्नेछ ।

    प्राधिकरणकै अधिकारीहरूका अनुसार यूटीएल अहिले व्यवहारतः “कागजी कम्पनी” मा सीमित भइसकेको छ । वास्तविक सञ्चालक को हुन्, कम्पनी कहाँबाट सञ्चालन भइरहेको छ भन्ने विषयसमेत अस्पष्ट बनेको उनीहरूको भनाइ छ ।

    यूटीएलमा भारतको सरकारी दूरसञ्चार कम्पनी महानगर टेलिफोन निगम लिमिटेड, टेलिकम्युनिकेसन कन्सल्ट्यान्ट्स इन्डिया लिमिटेड र टाटा कम्युनिकेसन्स लिमिटेडको समान २६.६६ प्रतिशत लगानी रहेको छ । बाँकी २० प्रतिशत सेयर नेपाल भेन्चर प्रालिको नाममा छ, जुन विशाल समूहसँग जोडिएको कम्पनी मानिन्छ ।

    २०७६ सालमा प्राधिकरणले यूटीएलको अनुमति खारेजी प्रक्रिया अघि बढाउँदा भारत सरकार स्वयं सक्रिय भएको स्रोतहरू बताउँछन् । भारतीय लगानीकर्ताको अर्बौं लगानी डुब्ने जोखिम देखिएपछि त्यतिबेला कूटनीतिक तहबाट समेत चासो र पत्राचार भएको एक अधिकारीको दाबी छ ।

    यसबीच केही नेपाली व्यवसायीले कम्पनी किनेर पुनः सञ्चालनमा ल्याउने चर्चा चले पनि ठूलो बक्यौता, नवीकरण शुल्क र कमजोर व्यावसायिक सम्भावनाका कारण कुनै ठोस पहल सफल हुन सकेको छैन ।

    यता प्राधिकरणले बक्यौता नतिर्ने दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक कम्पनीमाथि कडाइ गरिरहेको छ । स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकमको अनुमति पनि यही कारणले खारेज भइसकेको छ ।

    यूटीएलको भविष्य अन्योलमा परिरहेका बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले नयाँ दूरसञ्चार सेवा प्रदायक ल्याउन सकारात्मक रहेको बताएका छन् ।

    उनका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले अध्ययन गरिसकेको छ र आवश्यक सिफारिस आए सरकार नयाँ अनुमति प्रक्रियामा अघि बढ्न तयार छ ।

    हाल बजारमा नेपाल टेलिकमको प्रभाव बढ्दो छ भने एनसेलको भविष्यसमेत अनिश्चित देखिएको छ । यस्तो अवस्थामा नयाँ निजी दूरसञ्चार सेवा प्रदायक भित्र्याउने विषय फेरि चर्चामा आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images