images
images
  • कांग्रेस, एमाले र नेकपाका कार्यकर्ता फिर्ता बोलाएर आफ्ना भर्ती गर्दै रास्वपा

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्त्वको दुईतिहाइ नजिक बहुमतप्राप्त सरकारले अध्यादेशमार्फत् सबै राजनीतिक नियुक्तिहरु खारेज गरी नयाँ नियुक्ति खुल्ला प्रतिस्पर्धाका आधारमा गर्ने घोषणा गरेको थियो । अघिल्ला सरकारले गरेका नियुक्ति खारेज गर्नेगरी सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ नै जारी गरियो । राजनीतिक नियुक्ति खारेज गर्न ११० कानुन संशोधन गरिए ।

    रास्वपाको सरकारले विगतका सरकारले राजनीतिक कार्यकर्ता भर्ति गरेको भन्दै खुल्ला प्रतिस्पर्धाका आधारमा कार्यकारी प्रमुखदेखि बोर्ड सदस्यसम्म नियुक्ति गर्ने भन्दै अध्यादेशमार्फत् नियुक्ति खारेज गरेको थियो । तर आफ्नै घोषणा बिपरीत विगतमा झैं कार्यकर्ता भर्ति गर्ने क्रम रास्वपा नेतृत्वको वालेन्द्र शाह सरकारले नेपाल विद्युत प्राधिकरण र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट सुरु गरेको छ ।

    वालेन्द्र शाह सरकारका दुई मन्त्रीले नेपाल विद्युत प्राधिकरणका दुई बोर्ड सदस्य र राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव नियुक्ति विनाप्रतिस्पर्धा गरिसकेका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बिराजभक्त श्रेष्ठले बुधबार नेपाल विद्युत प्राधिकरणको संचालक समिति सदस्यमा निजी क्षेत्रको तर्फबाट अंशुकिरण शाही र उपभोक्ताको तर्फबाट कृष्ण बसेललाई नियुक्त गरेका छन् ।

    यी दुबै रास्वपाका पूर्णकालीन कार्यकर्ता रहेको स्रोतको दाबी छ । बसेल त सभामुख डोलप्रसाद अर्यालनिकट कार्यकर्ता भएकै आधारमा नियुक्ति भएको बताइन्छ । उपभोक्ताको तर्फबाट विद्युतको बिल तिरेको रसिदमात्र पेश गरेकै भरमा सदस्य नियुक्त भएका छन् । नियुक्ति भएलगत्तै बुधबार नै शाही र बस्याललाई मन्त्री श्रेष्ठले सपथ खुवाएर संचालक समितिको बैठक राखेका थिए ।

    संचालक समितिको बैठकले विनाप्रतिस्पर्धा दीर्घायुकुमार श्रेष्ठलाई ६ महिनासम्मका लागि विद्युत प्राधिकरणको कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय समेत गरेको छ । प्राधिकरणमा पनि खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति नगरी श्रेष्ठलाई कामु दिइएको छ । सुशासनको दुहाई दिने रास्वपा सरकारका ऊर्जा मन्त्री श्रेष्ठले कामु पनि सेटिङकै आधारमा दिएको चर्चा प्राधिकरणमा छ ।

    त्यसैगरी, राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा पनि खुल्ला प्रतिस्पर्धा नगराई टपक्क टिपेर डा। चिरन्जीवी पोखरेललाई नियुक्त गरिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले पोखरेललाई कोषको सदस्यसचिवमा नियुक्त गरेकी छन् ।

    विगतमा दलका कार्यकर्ता भर्ति गरेको भन्दै १५ सय ३४ भन्दा बढी नियुक्ति खारेज गरेको रास्वपाले आफ्नै प्रतिबद्धता बिर्सेर कार्यकर्ता भर्ति गर्ने क्रम सुरु गरेका यी केही उदाहरण हुन् ।

    संघीय संसदको प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई विगतको सरकारले नियुक्ति गरेको भन्दै पदमुक्त गरेका सभामुख डोलप्रसाद अर्यालले आफू मन्त्री हुँदाको पीए प्रकाश अधिकारीलाई नियुक्त गरेका छन् । उपसचिवबाट अवकाश भएको २ बर्ष पनि पूरा नभएका अधिकारीलाई रास्वपाको समर्थक र सभामुख अर्यालको निकट भएकै आधारमा प्रतिनिधिसभाको सचिवमा नियुक्त गरिएको छ ।

    प्रकाश अधिकारी जो मन्त्री हुँदा पनि चाकरी र चाप्लुसीमा माहिर खेलाडी मानिन्छन् । हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री हुँदा अधिकारी स्वास्थ्य मन्त्रालयको प्रशासन शाखाका उपसचिव थिए । त्रिपाठीका विश्वासपात्र रहेका उनी पछि डोलप्रसाद श्रम मन्त्री भएपछि उनकै भित्रीया नै हुन सफल भएका थिए । त्यही सम्बन्धका आधारमा उनी प्रतिनिधिसभाकै सचिवको नियुक्ति पड्काउन सफल भएका छन् ।

    त्यसैगरी, सूचना तथा सचार प्रबिधि मन्त्रालय अन्तर्गतको चलचित्र जाँच९सेन्सर बोर्ड०को सदस्यमा रास्वपा निकट मनोज पण्डितलाई नियुक्त गरिएको छ ।

    यी केही प्रतिनिधि उदाहरण हुन्, रास्वपाले अध्यादेशमार्फत् विगतको सरकारले गरेका नियुक्ति खारेज गरेर खुल्ला प्रतिस्पर्धाका आधारमा गर्ने भने पनि ब्यवहारमा खुरुखुरु कार्यकर्ता भर्ति गर्ने क्रम सुरु गरी कांग्रेस, एमाले र माओवादीकै सिको गर्न थालेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images