images
images
  • ओलीलाई नेतृत्वबाट हटाउन उपाध्यक्ष र महासचिवको मोर्चाबन्दी, एमाले पुनर्गठनको माग

    काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पार्टी नेतृत्व पुनर्गठनको नयाँ समझदारीनजिक पुगेका छन् ।

    एमालेका एक पदाधिकारी तहका नेताले दिएको जानकारी अनुसार उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्माजनक बिदाइका लागि आग्रह गर्ने र पार्टी पुनर्गठन गर्ने विषयमा छलफल भएको छ ।

    ‘यसबीचमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच पार्टी पुनर्गठनको विषयमा कुराकानी भएको छ । नेतृत्व पुनर्गठनबारे महासचिव पोखरेल पनि सकारात्मक हुनुहुन्छ । उहाँहरू छिट्टै नयाँ समझदारीमा पुग्ने सम्भावना बढेको छ,’ ती नेताले दाबी गरे ।

    विष्णु पौडेलनिकट एक नेताले पनि महासचिव पोखरेल नेतृत्व पुनर्गठन गर्नुपर्छ भन्ने मनस्थितिमा पुगेको दाबी गरे ।

    पौडेलसँगको कुराकानीमा महासचिव पोखरेलले यस्तो बताएको ती नेताको दाबी छ ।

    ‘महासचिव शंकर पोखरेलले पनि नेतृत्व पुनर्गठनकै मनस्थिति बनाइसक्नुभएको छ,’ ती नेताले दाबी गर्दै भने ।

    यसको संकेत चैत २० गतेको सचिवालय बैठकमै देखिएको ती नेताको दाबी छ ।

    चैत १९ गते प्रतिनिधि सभाको पहिलो बैठकमा दलका तर्फबाट बोल्ने क्रममा नेता रामबहादुर थापा ‘बादल’ले यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा क–कसको निर्णायक भूमिका रह्यो ?

    तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला कार्की सरकार, कार्की आयोग, बारबारा फाउण्डेसन, एनजिओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो,’ भनेका थिए ।

    यसप्रति उपाध्यक्ष पौडेलले आपत्ति प्रकट गरेका थिए ।

    उनले भोलिपल्टै सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

    चैत २० गते नै बसेको सचिवालय बैठकले बादलको अभिव्यक्ति सच्याएको थियो ।

    ‘बैठकले मुलुकको संविधान र प्रचलित कानुन बमोजिम निर्माण भएका नेपाली सेना लगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (ब्युरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ,’ बैठकपछि महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको थियो ।

    त्यस दिनको सचिवालय बैठकमा पनि महासचिव पोखरेलले दलका नेता बादलको अभिव्यक्ति सच्याउन भूमिका खेलेको अर्का पदाधिकारीको दाबी छ ।

    ‘पार्टीले जनादेशको सम्मान गर्नुपर्छ । जनादेशको सम्मान नहुने गरी धारणा राख्नु हुँदैन,’ महासचिव पोखरेलले सचिवालय बैठकमा भनेका थिए ।

    यसले पनि उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबीचको समझदारीको संकेत गर्ने ती नेताको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images