images
images
  • प्रम बालेनको ‘अपरेशनल टिम’मा मनोज केसी, साइडलाइनमा किन परे कार्की ?

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल प्रहरी नेतृत्वबीच दूरी बढ्दै गएको चर्चा यतिबेला प्रहरी संगठनभित्र तीव्र बनेको छ ।

    औपचारिक रूपमा नेपाल प्रहरीको नेतृत्व आइजीपी दानबहादुर कार्कीले गरिरहेका भए पनि प्रधानमन्त्रीको प्रत्यक्ष विश्वास भने सिआइबी प्रमुख एआईजी डा. मनोज केसीमाथि केन्द्रित हुन थालेको उच्च प्रहरी स्रोतहरू बताउँछन् ।

    यही कारण अहिले प्रहरी संगठनभित्र एउटा गम्भीर प्रश्न उठ्न थालेको छ, के प्रधानमन्त्री शाह आइजीपी कार्कीलाई क्रमशः कमजोर बनाउँदै मनोज केसीलाई भावी प्रहरी नेतृत्वका लागि तयार गरिरहेका छन्  ?

    कार्की २०८२ कात्तिक २४ गते आइजीपी नियुक्त भएका थिए ।

    उनको कार्यकाल अझै करिब दुई वर्ष बाँकी छ ।

    फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सफल भएका कारण सार्वजनिक रूपमा उनको कार्यसम्पादनमाथि ठूलो प्रश्न उठेको छैन ।

    तर पछिल्ला घटनाक्रमले प्रधानमन्त्री कार्यालयको भरोसा प्रहरीको औपचारिक नेतृत्वभन्दा बाहिर सरेको संकेत दिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

    विशेषगरी व्यवसायी पक्राउ प्रकरणमा प्रधानमन्त्री कार्यालयले नियमित प्रहरी संरचनाभन्दा सिआइबीलाई बढी सक्रिय बनाउनु, संवेदनशील अनुसन्धानमा सिधै मनोज केसीसँग समन्वय गर्नु तथा प्रधानमन्त्रीको निर्देशन सिआइबीमार्फत कार्यान्वयन हुन थालेपछि संगठनभित्र शक्ति सन्तुलन बदलिएको महसुस हुन थालेको छ ।

    प्रहरीभित्रै कतिपय अधिकारीहरू भन्छन्, “औपचारिक चेन अफ कमाण्ड एउटा छ, तर अपरेशनल विश्वास अर्कैतर्फ सरेको देखिन्छ ।”

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी सुवास श्रेष्ठ प्रकरणले यो आशंकालाई अझ बलियो बनाएको छ ।

    प्रधानमन्त्रीको निर्देशनपछि पनि तत्काल पक्राउ प्रक्रिया अघि नबढेको, त्यसपछि श्रेष्ठ देश छाडेर थाइल्याण्ड पुगेको विषय बाहिरिएपछि प्रधानमन्त्री कार्यालय र प्रहरी नेतृत्वबीच असन्तुष्टि बढेको चर्चा सुरु भएको हो ।

    त्यसयता सिआइबीलाई असामान्य रूपमा सक्रिय बनाइएको प्रहरी स्रोतहरूको दाबी छ ।

    एनआइएमबी बैंकका सिइओ ज्योती पाण्डे सम्बन्धी घटनामा पनि प्रधानमन्त्री असन्तुष्ट रहेको बताइन्छ ।

    प्रहरी नेतृत्वसँग समन्वय प्रभावकारी नभएको निष्कर्षपछि सिआइबीलाई नै प्रत्यक्ष रूपमा परिचालन गरिएको स्रोतहरूको दाबी छ ।

    यही घटनाक्रमलाई आधार बनाएर प्रहरी संगठनभित्र सूचना चुहावट भएको कोणबाट आन्तरिक छानबिनको तयारी भइरहेको चर्चा पनि छ ।

    स्रोतहरूका अनुसार प्रधानमन्त्री शाह जेनजी आन्दोलनका क्रममा भएको प्रहरी दमनको विषयलाई पुनः उठाउने तयारीमा छन् ।

    आन्दोलन दबाउन प्रयोग गरिएको बल, पक्राउ शैली र सुरक्षा रणनीतिलाई लिएर कार्कीलाई नैतिक रूपमा कमजोर बनाउने प्रयास हुन सक्ने प्रहरी वृत्तमा चर्चा छ ।

    त्यतिबेला कार्की उपत्यका प्रहरी कार्यालयको नेतृत्वमा थिए र आन्दोलन नियन्त्रण संस्थागत निर्णयका आधारमा गरिएको थियो। तर अहिले त्यही घटनालाई नयाँ राजनीतिक व्याख्यासहित अघि सार्दै कार्कीलाई “पुरानो संरचनाको प्रतिनिधि” र मनोज केसीलाई “नयाँ पुस्ताको परिणाममुखी तथा आक्रामक प्रहरी अधिकारी” का रूपमा प्रस्तुत गर्ने रणनीति बनिरहेको प्रहरी अधिकारीहरूको भनाइ छ ।

    रोचक कुरा के छ भने आइजीपी नियुक्तिको दौडमा कार्कीसँगै मनोज केसी पनि बलिया दाबेदार थिए ।

    त्यसबेला प्रधानमन्त्री शाहको रोजाइ केसी नै रहेको चर्चा प्रहरी मुख्यालयभित्र व्यापक थियो ।

    तर तत्कालीन राजनीतिक समीकरणका कारण वरियताका आधारमा कार्की आइजीपी बने ।

    अहिले परिस्थिति फेरिएको छ ।

    रास्वपाको नेतृत्वमा सरकार छ, गृहमन्त्रालय स्वयं प्रधानमन्त्रीसँग छ, र प्रहरी संगठनमाथिको नियन्त्रण प्रत्यक्ष रूपमा प्रधानमन्त्री कार्यालयबाट सञ्चालन भइरहेको अनुभूति प्रहरी वृत्तमा बढ्दै गएको छ ।

    यता सरकारभित्र अर्को विरोधाभास पनि देखिएको छ ।

    एकातर्फ रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न सार्वजनिक रूपमा आग्रह गरिरहेका छन् ।

    उनीहरूले व्यवसायीलाई त्रास दिने नीति सरकारको नभएको बताइरहेका छन् ।

    तर अर्कोतर्फ सिआइबीमार्फत व्यवसायी पक्राउ अभियान तीव्र बन्दै गएको छ ।

    उद्योगी–व्यवसायीका छाता संगठनहरूले समेत सरकारको धरपकड शैलीप्रति असन्तुष्टि जनाइसकेका छन् ।

    यसले सरकारभित्र नीति र कार्यान्वयनबीच तालमेल कमजोर देखिएको विश्लेषण हुन थालेको छ ।

    प्रहरीभित्र अहिले उठिरहेको मुख्य प्रश्न यही हो, के व्यवसायी पक्राउ अभियान केवल कानुनी प्रक्रिया मात्रै हो, वा प्रहरी नेतृत्व पुनर्संरचनाको भूमिकासमेत तयार पारिँदैछ ?

    प्रधानमन्त्री शाहले पछिल्लो समय कार्यसम्पादनलाई मुख्य आधार बनाउँदै निर्णय लिने संकेत दिएका छन् ।

    प्रधानन्यायाधीश सिफारिसमा समेत वरिष्ठताभन्दा कार्यसम्पादनलाई प्राथमिकता दिँदै मनोज शर्मा लाई अघि सारिएको उदाहरण प्रहरी वृत्तमा चर्चा हुने गरेको छ ।

    स्रोतहरूका अनुसार प्रधानमन्त्री शाहले मनोज केसीलाई “विश्वासिलो अपरेशनल कमाण्डर” का रूपमा स्थापित गर्दै कार्कीलाई क्रमशः एक्ल्याउने रणनीति अपनाइरहेका छन् ।

    यदि सुवास श्रेष्ठ प्रकरण वा जेनजी आन्दोलनसँग जोडिएका विषय औपचारिक रूपमा अघि बढाइयो भने त्यसले आइजीपी कार्कीमाथि प्रत्यक्ष दबाब सिर्जना गर्न सक्ने अनुमान गरिएको छ ।

    साथै गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदनमा पनि जेनजी आन्दोलन दमनमा कार्कीको भूमिकामाथि प्रश्न उठाइएको चर्चा छ ।

    यतिबेला नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि डिआइजीसम्मको व्यापक सरुवाको तयारी भइरहेको छ ।

    यही समयमा प्रहरी नेतृत्व र प्रधानमन्त्री कार्यालयबीच दूरी बढेको संकेत थप स्पष्ट देखिएको छ ।

    प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार आइजीपी कार्कीले पछिल्ला दुई सातादेखि प्रधानमन्त्रीसँग भेटको प्रयास गरे पनि समय पाउन सकेका छैनन् ।

    केही दिनअघि कार्की बालुवाटार र सिंहदरबार पुगेका थिए ।

    तर भेट हुन नसकेपछि उनले प्रधानमन्त्रीका सल्लाहकार कुमार बेन सँग समन्वय गरेका थिए ।

    स्रोतका अनुसार कार्कीले प्रधानमन्त्रीसँग भेट गराइदिन आग्रह गरेपछि बेनले सचिवालयमार्फत पहल गर्ने बताएका थिए ।

    प्रहरी सरुवासम्बन्धी विषय प्रधानमन्त्रीका सल्लाहकार सुवास शर्मा र कुमार बेनले हेर्दै आएका छन् ।

    अहिलेसम्म सरकारले औपचारिक रूपमा आइजीपी परिवर्तनबारे कुनै संकेत दिएको छैन ।

    तर प्रधानमन्त्री कार्यालयको गतिविधि, सिआइबीको बढ्दो सक्रियता, तथा प्रहरी नेतृत्वमाथि बढ्दो अविश्वासले नेपाल प्रहरीभित्र शक्ति संघर्षको नयाँ अध्याय सुरु भएको संकेत भने स्पष्ट रूपमा देखिन थालेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images