काठमाडौं– श्रीलंकाको राजधानी कोलम्बोमा नेपाल सरकारको स्वामित्वमा रहेको अर्बौं मूल्य बराबरको जग्गा निजी व्यक्तिका नाममा खरिदबिक्री भएको खुलेको छ ।
नेपाल सरकारले ३७ वर्षअघि दूतावास स्थापना गर्ने उद्देश्यले खरिद गरेको १.५ एकड (११.९३ रोपनी) जग्गामध्ये एक एकड जग्गा दुईपटकसम्म निजी व्यक्तिका नाममा बिक्री भएको पाइएको हो । हाल उक्त जग्गाको मूल्य करिब ६५ लाख अमेरिकी डलर बराबर रहेको बताइएको छ ।
नेपाल सरकारले सन् १९८९ मे १८ मा कोलम्बोको राजगिरियामा नेपाली दूतावास स्थापना गर्न ३ लाख ६० हजार अमेरिकी डलरमा उक्त जग्गा खरिद गरेको थियो । तर भवन निर्माण नहुँदा जग्गा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रह्यो ।
जग्गाको स्वामित्वसम्बन्धी विषय त्यसबेला बाहिरिएको हो, जब सरकारले आर्थिक वर्ष २०८१/८२ मा त्यहाँ कम्पाउण्ड पर्खाल निर्माण गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गर्यो । पर्खाल निर्माणको तयारीका क्रममा जग्गाको स्वामित्व स्पष्ट नभएको तथ्य फेला परेको थियो ।
श्रीलंकाको सरकारी अभिलेखमा खोजी गर्दा नेपाल सरकारको नाममा रहेको १.५ एकड जग्गामध्ये एक एकड जग्गा सन् १९९४ मे ९ सम्म आइपुग्दा दुईपटक निजी व्यक्तिलाई बिक्री भइसकेको खुलेको हो ।
आफूले खरिद गरेको जग्गा निजी व्यक्तिका नाममा गइसकेको तथ्य नेपाली दूतावासले ३१ वर्षपछि मात्रै थाहा पाएको थियो । अझ उक्त जग्गाको आधिकारिक लालपुर्जा हालसम्म पनि कोलम्बोस्थित नेपाली दूतावाससँग छैन ।
यस विषयलाई महालेखापरीक्षकको कार्यालयले समेत गम्भीर रूपमा उठाएको छ । शुक्रबार सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदनमा महालेखाले “उक्त जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याई संरक्षण तथा उपयोग गर्नुपर्दछ” भनेर स्पष्ट निर्देशन दिएको छ ।
महालेखाले विदेशस्थित नेपाली नियोगहरूलाई नेपाल सरकारको स्वामित्वमा रहेका घर तथा जग्गाको अभिलेख व्यवस्थित राख्न पनि निर्देशन दिएको छ ।
विदेशमा अधिकांश नेपाली नियोग अझै भाडाको भवनमा
परराष्ट्र मन्त्रालयअन्तर्गत हाल ३१ देशमा नेपाली दूतावास, ३ देशमा स्थायी नियोग र १० देशमा महावाणिज्य दूतावास सञ्चालनमा छन् । कुल ४४ नियोगमध्ये केवल ९ दूतावास कार्यालय र ११ राजदूत निवास मात्र आफ्नै वा लिजमा लिइएको भवनमा सञ्चालन भइरहेका छन् । बाँकी अधिकांश नियोग अझै भाडाकै भवनमा निर्भर छन् ।
वैदेशिक रोजगारीका प्रमुख गन्तव्य रहेका मलेसिया, दक्षिण कोरिया, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन र ओमानजस्ता मुलुकमा समेत नेपाली दूतावासका आफ्नै भवन छैनन् ।
रियादमा ५२ करोडको जग्गा, भवन अझै बनेन
मन्त्रिपरिषद्को २०७८ असार २१ गतेको निर्णयअनुसार साउदी अरबको रियादस्थित नेपाली दूतावासका लागि ३ हजार ६६४ वर्गमिटर जग्गा खरिद गरिएको थियो । उक्त जग्गा १ करोड ६४ लाख ८८ हजार साउदी रियाल अर्थात् करिब ५२ करोड ५८ लाख रुपैयाँमा खरिद गरिएको हो ।
साउदी सरकारसँग भएको सम्झौताअनुसार पाँच वर्षभित्र दूतावास भवन निर्माण गरिसक्नुपर्ने सर्त छ । तर हालसम्म निर्माण प्रक्रिया सुरु हुन सकेको छैन ।
यसैबीच, रियादस्थित नेपाली दूतावासले आर्थिक वर्ष २०७९/८० मा मात्रै घरभाडामा ३ करोड २४ लाख रुपैयाँ खर्च गरेको थियो ।
अष्ट्रेलिया र मलेसियामा पनि उस्तै अवस्था
अष्ट्रेलियाको क्यानबेरामा नेपाली दूतावासले २०७४ फागुन १८ गते ९९ वर्षका लागि ६ हजार १९८ वर्गमिटर जग्गा लिजमा लिएको थियो । १२ लाख अष्ट्रेलियन डलरमा लिइएको उक्त जग्गामा १८ महिनाभित्र निर्माण सुरु गर्नुपर्ने सर्त थियो । तर पटक–पटक म्याद थप हुँदासमेत भवन निर्माण सुरु हुन सकेको छैन ।
त्यस्तै, मलेसियाको पुत्राजयामा २०६६ सालमै दूतावास भवन निर्माणका लागि ७ हजार १११ वर्गमिटर जग्गा खरिद गरिएको थियो । १५ वर्ष बितिसक्दा पनि त्यहाँ भवन निर्माण सुरु हुन सकेको छैन ।
मलेसियास्थित नेपाली दूतावासले आर्थिक वर्ष २०७९/८० मा मात्रै घरभाडामा २ करोड ५३ लाख रुपैयाँ खर्च गरेको थियो ।
बेइजिङ र बोनका सम्पत्ति पनि प्रयोगविहीन
चीनको बेइजिङमा नेपाल सरकारले सन् १९८४ मा ९० वर्षका लागि जग्गा लिजमा लिएको थियो । त्यहाँ हाल दूतावास र राजदूत निवास भए पनि पुनर्निर्माण योजना अझै अघि बढ्न सकेको छैन ।
जर्मनी एकीकरणपछि नेपाली दूतावास बोनबाट बर्लिन सारिएपछि बोनस्थित नेपाल सरकारको दुई घर र २ हजार ८४६ वर्गमिटर जग्गा प्रयोगविहीन अवस्थामा छ ।
परामर्शदाताले गरेको मूल्यांकनअनुसार बोनस्थित उक्त सम्पत्तिको मूल्य १० लाख ४० हजार युरो रहेको छ । तर हालसम्म बिक्री प्रक्रिया अघि बढ्न सकेको छैन ।
नीति बन्यो, कार्यान्वयन भएन
नेपाल सरकारले विदेशस्थित नियोगका लागि आफ्नै भवन खरिद तथा निर्माण गर्ने नीति लिएको वर्षौं बितिसकेको छ । सार्वजनिक लेखा समितिले २०७७ मंसिर १४ गते खरिद गरिएका जग्गामा भवन निर्माण गरी भाडा खर्च घटाउन निर्देशन दिएको थियो ।
तर अधिकांश नियोगमा न भवन निर्माण भएको छ, न त खरिद गरिएका जग्गाको प्रभावकारी संरक्षण नै हुन सकेको छ ।
परराष्ट्र मन्त्रालयले २०७२ सालमै विभिन्न देशमा दूतावास भवन निर्माण तथा सम्पत्ति व्यवस्थापनसम्बन्धी अध्ययन समिति गठन गरेको थियो । समितिले ब्रसेल्स, न्युयोर्क, ब्रासिलिया, प्रिटोरिया र बैंककमा भवन वा अपार्टमेन्ट खरिद गर्ने योजना अघि सारेको थियो ।
समितिले १० वर्षभित्र सबै नेपाली नियोग आफ्नै भवनमा सञ्चालन गर्ने लक्ष्यसमेत तय गरेको थियो । तर प्रतिवेदन बनेको एक दशक बितिसक्दा पनि अधिकांश योजना कागजमै सीमित छन् ।






















