काठमाडौं– रास्वपा सांसद एवम् पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल अवैध रूपमा सञ्चालन भइरहेको क्लासिक टेकका सञ्चालक प्रमेश खरेलसँग नजिकको सम्बन्धनमा रहेको भेटिएको छ ।
५० करोड रुपैयाँभन्दा बढी सरकारी बक्यौता थुप्रिएको र लाइसेन्सको म्याद समेत समाप्त भइसकेको कम्पनीका सञ्चालक प्रमेशले जगदीश खरेल मन्त्री हुँदा सामीप्यता बढाएको भेटिएको हो ।
राजनीतिक शक्ति प्रयोग गर्दै प्रमेशले आफ्नो व्यापारिक स्वार्थ अनुकूल वातावरण बनाउन खरेललाई प्रभावमा पारेको भेटिएको हो ।
नेपालको दूरसञ्चार इतिहासमा अहिलेसम्म कसैले नपाएको सुविधा दिएर क्लासिक टेक जोगाउने प्रयासमा खरेल लागिपरेको खुलेको हो ।
उनले विद्युत प्राधिकरण अन्तर्गत ट्रङ्कलाइनको बक्यौता तिर्न उद्योगीहरूलाई किस्ताबन्दी सुविधा दिइएको जिकिर गर्दै सोही मोडालिटीमा क्लासिक टेकलाई जोगाउने उपाय निकालेका छन् ।
जब कि रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष दस्तुरको बक्यौता किस्ता बन्दीमा तिर्ने सुविधा अहिलेसम्म दूरसञ्चार क्षेत्रका कुनै पनि कम्पनीलाई दिइएको छैन ।
बरु उल्टै लाइसेन्स नवीकरण दस्तुर तिर्न टेलिकम कम्पनीहरूलाई किस्ताबन्दीको सुविधा दिइएको विषयमा समेत महालेखाले प्रश्न उठाएको छ ।
यसैबिच रास्वपा सांसद खरेल र क्लासिक टेकका सञ्चालक प्रमेश खरेल काभ्रेको पाँचखालमा सँगै देखिएका छन् ।
राज्यलाई बुझाउनुपर्ने ५० करोड रुपैयाँभन्दा बढी कर नतिरेर बिना लाइसेन्स अवैध रूपमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका खरेलले सुशासनको माग गर्दै भएको जेन(जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारलाई समेत प्रभावमा पार्दै लगेका हुन् ।
क्लासिक टेकलाई उन्मुक्ति दिलाउने गृहकार्यमा रहेका सञ्चालक प्रमेश खरेल र सञ्चारमन्त्री खरेल एकसाथ देखिनुलाई रहस्यपूर्ण मानिएको छ ।
एकातिर बक्यौता नतिर्दा क्लासिक टेकले इन्टरनेट सेवा प्रदायक र विदेशबाट ब्यान्डविथ ल्याउन चाहिने नेटवर्क सेवा प्रदायक गरी दुवै लाइसेन्स गुमाइसकेको छ ।
वर्ल्डलिंक, भायानेट र सुबिसु लगायतका इन्टरनेट सेवा प्रदायकले बक्यौता बुझाउन किस्ताबन्दीको सुविधा माग गर्दा नसुनेको सरकार क्लासिक टेकबाट भने सजिलै प्रभावित भइरहेको छ ।
हाललाई बक्यौताको निश्चित रकम (करिब ५ करोड रुपैयाँ) बुझाएर लाइसेन्स नवीकरण गराउने दाउमा क्लासिक टेकका सञ्चालक प्रमेश खरेल लागिपरेका छन् ।
सोही योजना मुताविक सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल उनको सारथीको रूपमा उभिएका हुन् ।

नियामक दूरसञ्चार प्राधिकरणका अधिकारीहरू बक्यौता नतिर्ने क्लासिक टेकमाथि कारवाही अघि बढाउनुपर्ने पक्षमा छन् ।
तर, सञ्चारमन्त्री खरेल र प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारी क्लासिक टेकको लाइसेन्स खारेजी प्रक्रिया अघि बढाउनको साटो सहजीकरण गर्नुपर्ने पक्षमा छन् ।
मन्त्री खरेलकै दबाबमा दूरसञ्चार प्राधिकरणले २१ मङ्सिरमा सार्वजनिक गरेको लाइसेन्स खारेजीको ३५ दिने सूचनाबाट क्लासिक टेकको नाम हटाएको थियो ।
मन्त्री खरेलको चाहना अनुरूप प्राधिकरण अध्यक्ष भण्डारीले समेत क्लासिक टेकलाई उन्मुक्ति दिने भूमिका खेलिरहेका छन् ।
मन्त्रीले नियामकीय प्रक्रियालाई प्रभावित पार्दै क्लासिक टेकमाथिको कारवाही रोकिरहेको परिप्रेक्षमा बिहीबार मन्त्री र कम्पनीका सञ्चालक काभ्रेमा सँगै देखिए ।
सञ्चारमन्त्री खरेललाई बिहीबार क्लासिक टेककै सञ्चालक प्रमेश खरेलले काभ्रेको पाँचखाल नगरपालिकाको अवलोकन भ्रमणमा लगेको बुझिएको छ ।
अवलोकन भ्रमणको नाम दिए पनि क्लासिक टेकका प्रमेश खरेलको व्यापारिक स्वार्थमा सञ्चारमन्त्री खरेलसँगै पाँचखाल नगरपालिकाका मेयर महेश खरेल पनि जोडिएका छन् ।
सञ्चारमन्त्री खरेल पछिल्लो समय सरकारको दूत बनेर निरन्तर राजनीतिक नेतृत्वसँग भेटघाटमा कुदिरहेका छन् ।
मन्त्री खरेलको सचिवालयले धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिने खरेलथोक स्वारामा प्रत्येक वर्ष हुने कुलपूजा तथा विविध धार्मिक कार्यक्रममा भाग लिन पाँचखाल पुगेको बताएको छ ।
क्लासिक टेकका प्रमेश पाँचखाल नगरपालिकाका मेयर महेशका काकाका छोरा हुन् ।
महेशलाई आर्थिक रूपमा प्रमेशले विगतदेखि नै सघाउँदै आइरहेका छन् ।
केही समय अघिसम्म नयाँ बानेश्वरको एभरेस्ट होटल पछाडि रहेको देवी टावरमा क्लासिक टेकको मुख्य कार्यालय थियो ।
देवी टावर मेयर महेश खरेलकै हो । क्लासिक टेक रहेकै अफिस स्पेसमा एकाएक एननेटको कार्यालय खडा गरियो ।
एननेटको नाममा प्राधिकरणबाट चार महिना अघि अर्थात् १५ वैशाख २०८२ मा मात्रै इन्टरनेट सेवा प्रदायक र नेटवर्क सेवा प्रदायक गरी दुई ओटा लाइसेन्स जारी भएका छन् ।
यो नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनीको कार्यालय, बजार उपस्थिति र कभरेजले क्लासिक टेकसँगको सम्बन्ध सतहमा ल्याएको थियो ।
केही महिना अघिसम्म क्लासिक टेकको अफिस रहेको देवी टावरमा अहिले पनि एननेटकै कार्यालय छ ।
हाल प्राधिकरणले ट्यारिफ स्वीकृत नगराएको भन्दै एननेटलाई सेवा सञ्चालन गर्न रोक लगाएको छ ।
देवी टावरमा एननेट आएपछि क्लासिक टेकले आफ्नो मुख्यालय बुद्धनगरमा सारेको थियो ।
क्लासिक टेक सरेको बुद्धनगरको घर पनि उनै मेयर महेश खरेलकै हो ।
स्रोतका अनुसार बुद्धनगरको यही घर कुनै समय बैङ्कको लिलामीमा पर्न लाग्दा प्रमेश खरेलले जोगाइदिएका थिए ।
त्यसपछि दुई दाजु(भाइबिचको सम्बन्ध थप मजबुत बन्दै गइरहेको छ ।
दाइको राजनीतिक पहुँच र प्रभाव प्रयोग गर्दै प्रमेश खरेल अहिले क्लासिक टेक जोगाउने प्रयासमा छन् ।
यसरी जगदीश खरेल क्लासिक टेकको प्रभावमा पर्दा दूरसञ्चार प्राधिकरण समेत करोडौँ बक्यौता नतिर्ने कम्पनीको लाइसेन्स खारेज गर्नुपर्ने कानुनी दायित्वबाट बिमुख भइरहेको छ ।






















