images
images
  • सिंहदरबारदेखि बालुवाटारसम्म बालेन आतंक : सचिवालयको कडाइले मन्त्रीहरू रुष्ट, हैरानी खेप्दै कर्मचारी

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा, गृह तथा विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्रालयको अतिरिक्त जिम्मेवारी सम्हालिरहेका बेला बाँकी मन्त्रालयहरूमा समेत प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष निगरानी र हस्तक्षेप बढेको भन्दै मन्त्रीहरू असन्तुष्ट बनेका छन्।

    सरकारी स्रोतहरूका अनुसार, कतिपय मन्त्रालयमा मन्त्रीस्तरीय निर्णय गर्नुअघि समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्वीकृति लिनुपर्ने अवस्था बनेको छ। यसले मन्त्रीहरूको कार्यकारी अधिकार कमजोर भएको आरोप पनि लागिरहेको छ।

    एक मन्त्रालयका सचिवले नेपालखबरसँग कुरा गर्दै भने, “मन्त्रीहरूसँग वास्तविक कार्यकारी अधिकार नै सीमित भएको छ। प्रधानमन्त्री कार्यालयको सहमति बिना निर्णय अघि बढाउन कठिन भएको छ।”

    परराष्ट्र मन्त्रालय बाहेक अधिकांश मन्त्रालयमा प्रधानमन्त्री कार्यालयको निगरानी सक्रिय रहेको अधिकारीहरूको दाबी छ। सुरुका दिनमा अर्थ र परराष्ट्र मन्त्रालयमा प्रत्यक्ष हस्तक्षेप कम देखिए पनि पछिल्लो समय अर्थ मन्त्रालयका गतिविधिमा समेत प्रधानमन्त्री कार्यालयको चासो बढेको बताइन्छ।

    अर्थ मन्त्रालयका काममा समानान्तर संरचना जस्तो देखिएको र बजेट निर्माण प्रक्रियामा समेत प्रधानमन्त्री कार्यालयबाट छुट्टै समन्वय भइरहेको आरोप केही कर्मचारीले गरेका छन्।

    एक मन्त्रीले आफ्नो कामकाज स्वतन्त्र रूपमा अघि बढाउन नसकेको गुनासो गरेका छन्। उनका अनुसार, प्रधानमन्त्रीको टिमले मन्त्रीहरूलाई समेत निर्देशनात्मक शैलीमा काम गराउने गरेको छ। साथै, असन्तुष्टि व्यक्त गर्दा पदबाट हटाइने चेतावनी जस्ता टिप्पणीहरू समेत आउने गरेको दाबी उनीहरूको छ।

    ती मन्त्रीका अनुसार प्रधानमन्त्रीसँग सीमित मन्त्रीहरूको मात्र प्रत्यक्ष पहुँच छ, जबकि धेरैजसो मन्त्रीहरूको भेटघाट मन्त्रिपरिषद् बैठकमै सीमित हुने गरेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन गर्न अनलाइन पोर्टलसमेत सञ्चालनमा ल्याएको छ। तर नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भइसकेपछि यस्तो प्रक्रिया अघि बढाइएको भन्दै केही अधिकारीहरूले असन्तुष्टि जनाएका छन्।

    अर्थ मन्त्रालयका एक कर्मचारीले बजेट निर्माणका लागि मन्त्रालयमै छुट्टै टोली सक्रिय भइरहेका बेला प्रधानमन्त्री कार्यालयबाट पनि समानान्तर सुझाव संकलन भइरहेको बताए। उनका अनुसार प्रधानमन्त्रीले विभिन्न विज्ञ तथा संस्थासँग बजेट सम्बन्धी आन्तरिक छलफल समेत गरिरहेको जानकारी आएको छ।

    प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने मन्त्रालयहरूको समन्वय र निगरानीलाई स्वाभाविक प्रक्रिया भएको दाबी गरेका छन्। उनका अनुसार, “धेरै मन्त्रालयमा स्पष्ट कार्यक्षमता र समन्वयको अभाव देखिएकाले प्रधानमन्त्री कार्यालयले निगरानी बढाएको हो।”

    उनले केही मन्त्री र कर्मचारीको गलत अभ्यासले नीतिगत कार्यान्वयनमा समस्या आउन सक्ने भएकाले प्रधानमन्त्री कार्यालय सक्रिय भएको पनि बताए।

    तर कानुन मन्त्रालयकी मन्त्री सोबिता गौतम प्रधानमन्त्री कार्यालयबाट बारम्बार आउने फोन र निर्देशनात्मक सुझावका कारण असहज महसुस गरिरहेको निकट स्रोतले जनाएको छ। महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार भए पनि प्रधानमन्त्री कार्यालयबाट प्रत्यक्ष निर्देशन आउने गरेको उनको गुनासो रहेको बताइन्छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हालै ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गरेसँगै आफ्नो भूमिका थप विस्तार गरेको छ। सो पुनर्संरचनापछि केही मन्त्रालयका कार्यक्षेत्र समेत प्रधानमन्त्री कार्यालयअन्तर्गत सारिएको बताइएको छ।

    यसैबीच राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याउने तयारी भइरहेको स्रोतहरूले जनाएका छन्। यसअघि तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले २०८२ असोज ९ मा उक्त विभाग गृह मन्त्रालयअन्तर्गत सारिएको थियो।

    सरकारी संरचना पुनर्संयोजन र निर्णय प्रक्रियामा प्रधानमन्त्री कार्यालयको बढ्दो भूमिका बारे अहिले राजनीतिक वृत्तमा बहस चर्किएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images