काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी ७ देखि ९ असारसम्म चितवनमा आफ्नो पहिलो महाधिवेशन गर्ने भएको छ। महाधिवेशनमार्फत पार्टीले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई थप सुदृढ बनाउने तयारी गरेको छ।
पार्टी स्थापनाको चार वर्ष पनि नपुग्दै हुन लागेको यस महाधिवेशनमा मुख्य चासो सभापति को बन्ने भन्नेमा केन्द्रित छ। हाल पार्टी सभापतिको जिम्मेवारीमा रवि लामिछाने रहेका छन् भने सरकारको नेतृत्व वरिष्ठ नेता बालेन्द्र शाह ले गरिरहेको चर्चा राजनीतिक वृत्तमा छ।
निर्वाचनअघि लामिछाने र शाहबीच भएको सहमतिअनुसार पार्टी नेतृत्व लामिछानेले र सरकारको नेतृत्व शाहले गर्ने समझदारी बनेको बताइन्छ। अब यही सहमति महाधिवेशनले अनुमोदन गर्ने हो वा नेतृत्वमा प्रतिस्पर्धा देखिने हो भन्ने विषयमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरूले निर्णय गर्नेछन्।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार पार्टीभित्र विकल्पहरू भए पनि वर्तमान अवस्थामा सभापति लामिछाने नै आवश्यक नेतृत्व हुन्। उनका अनुसार पार्टीलाई एकताबद्ध राख्दै देशलाई निकास दिने उद्देश्य प्राथमिकता हो, व्यक्तिगत नेतृत्व प्रतिस्पर्धा होइन।
तर राजनीतिक वृत्तमा भने महाधिवेशनपछि नेतृत्व परिवर्तनको सम्भावनाबारे पनि चर्चा भइरहेको छ। केही नेताहरूले बालेन शाहले प्रत्यक्ष सभापति बन्नेभन्दा पनि आफूअनुकूल नेतृत्व अघि सार्न सक्ने अनुमानसमेत गरेका छन्।
यस्तै, सरकारको नेतृत्वमा रहेका शाहले पार्टी संगठनमा पनि प्रभाव विस्तार गर्दै आफूअनुकूल नेतृत्व स्थापित गर्ने प्रयास गर्न सक्ने दाबी केही विश्लेषकहरूले गरेका छन्। भारतको राजनीतिमा प्रधानमन्त्री नरेन्द्र मोदीले पार्टी संरचनाभित्र अनुकूल नेतृत्व निर्माण गर्ने अभ्याससँग तुलना गर्दै यस्ता सम्भावनाबारे टिप्पणी गरिएको छ।
महाधिवेशन तयारी अन्तर्गत रास्वपाले वडा, पालिका र जिल्ला तहका अधिवेशनहरूको विस्तृत तालिका सार्वजनिक गरेको छ। सोअनुसार २ जेठदेखि २४ जेठसम्म वडादेखि जिल्ला तहका अधिवेशनहरू सञ्चालन हुनेछन्।
प्रदेश अधिवेशन भने २६ जेठदेखि १ असारसम्म सम्पन्न हुने तय गरिएको छ। प्रदेशअनुसारको तालिका यस प्रकार छ, बागमती २६ जेठ, कोशी २७ जेठ, मधेस २८ जेठ, गण्डकी २९ जेठ, लुम्बिनी ३० जेठ, कर्णाली ३१ जेठ र सुदूरपश्चिम १ असार।
रास्वपाको विधानअनुसार केन्द्रीय समिति, सल्लाहकार परिषद्, विभिन्न केन्द्रीय निकाय र विभागका पदाधिकारीहरू महाधिवेशन प्रतिनिधि रहने व्यवस्था छ। साथै प्रदेश, जिल्ला र पालिका तहबाट छनोट हुने प्रतिनिधिहरू पनि सहभागी हुनेछन्।
पालिकास्तरमा सदस्य संख्या अनुसार प्रतिनिधि चयन गरिने व्यवस्था छ, २०१ भन्दा बढी सदस्य भएका पालिकाबाट १, ४०१ भन्दा बढी सदस्य भएका नगरपालिकाबाट २, ५०१ भन्दा बढी सदस्य भएका उपमहानगरपालिकाबाट ३ र ७०१ भन्दा बढी सदस्य भएका महानगरपालिकाबाट ४ प्रतिनिधि छनोट हुनेछन्।
हाल पार्टीको केन्द्रीय समिति १२९ सदस्यीय छ, जसमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र सहकोषाध्यक्षसहित संरचना रहेको छ। सातै प्रदेशका सभापतिहरू पनि पदेन सदस्यका रूपमा रहने व्यवस्था छ।
महाधिवेशनलाई व्यवस्थित बनाउन महामन्त्री बुर्लाकोटीको संयोजकत्वमा कार्यविधि तयार गरिएको छ। साथै एकता समायोजन समिति र विधान मस्यौदा समितिलाई समेत आवश्यक मस्यौदा तयार गर्न निर्देशन दिइएको छ।
रास्वपाले आफ्नो पहिलो महाधिवेशनलाई संगठन विस्तार र राजनीतिक यात्राको निर्णायक मोडका रूपमा लिएको जनाएको छ।






















