काठमाडौं– बहुदलीय व्यवस्था पुनःस्थापनापछि सार्वजनिक पदमा रहेका तथा पूर्वपदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न गठन गरिएको सम्पत्ति छानबिन आयोगले करिब ३० हजार व्यक्तिमाथि अनुसन्धान गर्ने तयारी गरेको छ ।
आयोगले बिहीबार सूचना जारी गर्दै हाल वा यसअघि सार्वजनिक पद धारण गरेका सबै उच्च पदस्थ व्यक्तिहरूलाई आफू तथा परिवारको सम्पत्ति विवरण अनिवार्य रूपमा पेस गर्न निर्देशन दिएको छ । आयोगका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म सार्वजनिक पदमा रहेका वा सो अवधिपछि सेवानिवृत्त भएका व्यक्तिहरू यस प्रक्रियामा पर्नेछन् ।
आयोगका प्रवक्ता पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसीले सार्वजनिक पदमा रहेका राजनीतिक पदाधिकारी, सरकारी सेवामा रहेका तथा सेवानिवृत्त सबैले तोकिएको ढाँचामा विवरण बुझाउनुपर्ने बताए । उनले आयोगलाई अदालतसरह अधिकार प्राप्त रहेको उल्लेख गर्दै निर्देशन पालना नगरे कानुनी कारबाही हुने चेतावनी दिए ।
प्रारम्भिक अनुमानअनुसार ३० हजारभन्दा बढी व्यक्ति छानबिनको दायरामा पर्ने र करिब पाँच हजारभन्दा बढी उजुरी दर्ता हुन सक्ने आयोगको अनुमान छ । आयोगले नेपाल सरकार, प्रदेश सरकार तथा संवैधानिक निकायका पदाधिकारी र उनीहरूका परिवारको नाममा रहेको स्वदेश तथा विदेशस्थित सम्पूर्ण सम्पत्ति विवरण खुलाउन आग्रह गरेको छ ।
पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्री तथा प्रदेशसभा सदस्यदेखि संवैधानिक निकायका प्रमुख, पूर्वन्यायाधीश, सुरक्षा निकायका उच्च अधिकारी, नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा सरकारी बैंक–वित्तीय संस्थाका प्रमुखसम्म यस दायरामा परेका छन् ।
त्यस्तै, सार्वजनिक संस्थानका अध्यक्ष, महाप्रबन्धक, प्रमुख कार्यकारी अधिकृत तथा सरकारी अनुदान प्राप्त विश्वविद्यालय र प्रतिष्ठानका उच्च पदाधिकारीहरूलाई पनि सम्पत्ति विवरण बुझाउन भनिएको छ ।
आयोगले सम्पत्ति विवरणमा घरजग्गा, बैंक मौज्दात, सेयर, व्यवसाय, कृषि–पशुपालन, वैदेशिक आम्दानी, सवारीसाधन लगायत सबै चल–अचल सम्पत्ति खुलाउनुपर्ने व्यवस्था गरेको छ । साथै तलब, भत्ता, व्यावसायिक आय, लगानी र अन्य आर्थिक स्रोतसमेत स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।
सम्बन्धित व्यक्तिले आफ्नो मात्र नभई पति–पत्नी र परिवारका सदस्यको नाममा रहेको सम्पत्ति पनि खुलाउनुपर्नेछ । विवरण आयोगको तोकिएको फाराममार्फत बुझाउनुपर्नेछ, जुन कार्यालय वा आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।
आयोगले सम्पत्ति विवरण नबुझाउने, ढिलाइ गर्ने वा गलत विवरण पेस गर्ने कार्यलाई गम्भीर कानुनी उल्लङ्घन मानिने भन्दै आवश्यक कारबाही हुने चेतावनी दिएको छ ।
सेवानिवृत्त भइसकेका पदाधिकारी र कर्मचारीहरूलाई समेत एक पटक अनिवार्य रूपमा विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ । सुशासन र आर्थिक पारदर्शिता कायम गर्न यो अभियान प्रभावकारी रूपमा अघि बढाइने आयोगको भनाइ छ ।






















