काठमाडौं– स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलाम गरी बिक्री गरिएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बिहीबार एनसेलको प्रधान कार्यालय पुगेको छ । अनुसन्धानका क्रममा सीआईबीले महत्त्वपूर्ण कागजात तथा प्रमाणहरू नियन्त्रणमा लिएको जनाएको छ ।
स्मार्ट टेलिकमको लाइसेन्स ३ वैशाख २०८० मा रद्द भएपछि कम्पनीको सम्पूर्ण सम्पत्ति नेपाल सरकारको नियन्त्रणमा गएको कानुनी व्यवस्था छ । तर, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले सोही सम्पत्ति लिलाम प्रक्रियामार्फत एनसेललाई बिक्री गरेपछि प्रकरण विवादित बनेको हो ।
यसअघि सीआईबीले स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशी र एनआईएमबीका सीईओ ज्योतिप्रकाश पाण्डेसहित अन्य व्यक्तिलाई पक्राउ गरिसकेको छ । उनीहरूमाथि ठगी, आपराधिक विश्वासघात र सरकारी सम्पत्ति हिनामिनासम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ ।
एनसेलले बैंकको लिलामी सूचनाअनुसार स्मार्ट टेलिकमको सम्पत्ति ४ अर्ब ६० करोड रुपैयाँमा खरिद गरेको थियो । तर अन्य प्रतिस्पर्धी कम्पनीहरूको कबोल रकम निकै कम रहेकाले यो कारोबारमाथि शंका उत्पन्न भएको छ ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार स्मार्ट टेलिकमको सरकारी बक्यौता नतिरी बैंकको ऋण मात्र मिलाउने उद्देश्यले योजनाबद्ध रूपमा सम्पत्ति बिक्री गरिएको आशंका गरिएको छ । यस प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणको भूमिकामाथि पनि प्रश्न उठेको छ ।






















