images
images
  • स्मार्ट सेलको सम्पत्तिमा ‘सेटिङ’ प्रकरण : एनसेल मुख्यालयमा सीआईबीको छापा

    काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्मार्ट टेलिकमको सम्पत्ति खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा एनसेलको मुख्यालयमा छापा मारेको छ ।

    स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएपछि सरकारी स्वामित्वमा आउनुपर्ने सम्पत्तिलाई मिलेमतोका आधारमा निजी स्वार्थअनुसार खरिद गर्न खोजिएको सूचनापछि सीआईबीले अनुसन्धान तीव्र बनाएको हो ।

    अनुसन्धानको क्रममा एनसेल पनि शंकाको घेरामा परेपछि मुख्यालयमै पुगेर कागजात तथा विवरण संकलन गरिएको स्रोतले जनाएको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिरेपछि स्मार्ट टेलिकमको अनुमति पत्र यसअघि नै खारेज गरिसकेको थियो ।

    कानुनी व्यवस्था अनुसार लाइसेन्स खारेज भएको कम्पनीको पूर्वाधार तथा सम्पत्ति सरकारी स्वामित्वमा आउनुपर्ने भए पनि त्यसलाई बैंकमार्फत न्यून मूल्यमा लिलामी गराएर हत्याउने प्रयास भएको प्रारम्भिक निष्कर्ष सीआईबीको छ ।

    अनुसन्धानमा स्मार्ट टेलिकमका सञ्चालक र एनसेलका केही उच्च अधिकारीबीच गोप्य समझदारी भएको आशंका गरिएको छ ।

    बैंकिङ प्रक्रियालाई प्रयोग गर्दै कम मूल्यमा सम्पत्ति हात पार्ने योजना बनाइएको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको बताइएको छ ।

    यसअघि नै सीआईबीले स्मार्ट टेलिकमका पदाधिकारीमाथि सरकारी सम्पत्ति हिनामिना तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

    सोही अनुसन्धानको सिलसिलामा एनसेल कार्यालयमा पनि छापा मारिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images